काठमाडौं, २५ चैत । नेपाली समाजमा बिरामी नभई स्वास्थ्य जाँच नगर्ने प्रचलन छ। तर, हिजोआज जनमानसमा स्वास्थ्यप्रतिको चेतना बढ्दै गएको छ। समय–समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन शुरु भएको छ। आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्। तिनै मध्येको चर्चित प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात शारीरिक परीक्षण। होलबडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर त्यसभित्र के–के जाँच गरिन्छ, के–के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ उति धेरै जानकारी राखेको पाइँदैन।
के हो ‘होल बडी चेकअप’ ?
‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो संभावित ठूला रोगहरुबारे पूर्व जानकारी हुने गर्दछ। होलबडीमा मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ। दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ। परीक्षणपछि के–के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव पनि दिन्छन्। ती सुझावहरु अबलम्वन गर्न सकेमा लाखौँ खर्चेर पनि निको नहुने रोगहरुबाट समेत बच्न सकिन्छ।
त्यस्तै होलबडी चेकअपमा मुत्रथैलीको अवस्था, इसिजी, अल्ट्रा साउण्ड परीक्षण गरी पूर्व जानकारी हुने डा. बस्नेतको भनाइ छ। ‘अहिलेको सामान्य खर्चले, भोलिको संभावित लाखौं खर्च जोगाउने हुँदा होल बडी चेकअपका लागि सानो रकममा कसैले कन्जुस्याइँ गर्न खोज्नु मुर्खता हुनेछ’ उनले भने।
होल बडी चेकअपमा पनि कतिपयले महिला र पुरुषका हकमा छुट्टाछुट्टै शूल्क तोकेका छन्। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरु परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरुले बताएका छन्। त्यस्तै प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरुलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरुले प्रारम्भिक चरण र दोस्रो चरण गरी चेक अपको प्याकेज बनाएका छन्।
के–के जाँच हुन्छ होलबडी चेक अपमा ?
तपाईंको स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन भनेर गरिने विभिन्न स्वास्थ्य परीक्षणको समूहलाई नै ‘होलबडी’ चेकअप भन्ने गरिन्छ। साधारणतया यसमा उमेर र, लिङ्ग हेरेर निम्न जाँच गरिन्छः
रगतबाट गरिने जाँच
रक्त कण गणना, रक्त समूह, सुगर, कलेजो, मिर्गौला, कोलेस्टेरोल, युरिक एसिड, थाइराइड, भिटामिन डी, हेपाटाइटिस बी र सी, एचआइभी, भिडिआरएल र टिपिएचए पर्दछन्।
त्यस्तै पिसाबको जाँच अन्तर्गत पिसाबमा इन्फेक्सन, सुगर, प्रोटिनको मात्रा र दिसाको जाँच अन्तर्गत दिसामा इन्फेक्सन, जुका, रगत (ओकल्ट ब्लड) भएको र नभएको जाँच गरिन्छ।
त्यस्तै फोक्सो, छातीको एक्सरे, इको, भिडियो एक्सरे (पेट) (युएसजी–एब्डोमेनरपेल्भिस), पाठेघरको मुखको क्यान्सरका लागि प्याप स्मेयर, ४० वर्षभन्दा माथिका महिलाका लागि म्यामोग्राफी, ४५ वर्षभन्दा माथिका पुरुषका लागि प्रोस्टेट जाँच (पिएसए) गरिन्छ।
होलबडी चेकअपका लागि पूर्वतयारी
कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमूना दिनुभन्दा अगाडि तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निन्द्रा आदि कुरासँग निर्भर हुन्छ। त्यसकारण जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्वतयारी आवश्यक छः
जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तिमा ८–१० घन्टा सुत्नुपर्छ। जाँच गर्नुभन्दा अगाडि कम्तिमा तीन दिन साधारण खाना खानु पर्छ। धेरै बोसोयुक्त खाना खानाले टिजी (रगतमा ट्राइग्लिसराइड–रगतमा हुने बोसोको मात्रा) बढाउँछ। प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ। ब्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ। विशेष गरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तिमा ८–१० घन्टा खाली पेट हुनु अनिवार्य हुन्छ। कमसेकम २४ घन्टा अघिदेखि धूमपान, मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ। भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ। जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधीको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ। जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनाबारी चलिरहेको बारे जानकारी गराउनुपर्छ। पाखुरासम्म सार्न मिल्ने सजिलो कपडा लगाउनुपर्छ।
‘होल बडी चेक’ गर्दा कुन अस्पतालको शुल्क कति ?
टिचिङ अस्पताल
काठमाडौंस्थित महाराजगंजमा रहेको टिचिङ सरकारी अस्पताल हो। एमबीबीएस पढाई समेत हुने भएकाले यसको नाम ‘टिचिङ’ रहन गएको हो। पढाई त छँदैछ, अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ। होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ।
सिभिल अस्पताल
नयाँ बानेश्वरस्थित सिभिल अस्पताल अर्ध सरकारी रुपमा संचालित छ। विभिन्न रोगको उपचार हुने सिभिल अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा ३ हजार २ सय ६५ रुपैयाँ शुल्क लाग्दछ।
बी एण्ड बी अस्पताल
ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पूर्ण निजी तवरले संचालित अस्पताल हो। विभिन्न ठूला रोगको उपचार हुने बी एण्ड बी अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ। पहिलो समूहअन्तर्गत सामान्यतः पूर्व जानकारी लिन गरिने होलबडी परीक्षण पर्दछ। पैसाका कारण परीक्षण नरोकियोस् भन्ने उद्देश्यले यो समूह तय गरिएको अस्पतालले जनाएको छ। जसको शुल्क ३ हजार पाँचसय लाग्दछ। मुटुको विशेष परीक्षण गर्नेगरी अर्को समूहमा बडी चेक अप गर्ने गरिएको छ। ब्लडपे्रसर भएका बिरामीले यही समूहबाट पूर्ण परीक्षण गर्नुपर्दछ। ‘कार्डियो प्याकेज’ नामको यो परीक्षणमा शुल्क ६ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ।
सुमेरु अस्पताल
ललितपुर धापाखेलमा रहेको सुमेरु निजी तवरबाट संचालित अस्पताल हो। यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा सामान्य मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ। यदी प्रारम्भिक चरणमा कुनै अंगमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ। यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ।
अल्का अस्पताल
निजी तवरमा संचालित ललितपुर जाउलाखेलमा रहेको अल्का अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई तीन समूहबाट गर्ने गरिन्छ। समूहअनुसार शुल्क फरक फरक पर्दछ। सामान्य मानिसको हकमा २ हजार ९ सय ७०, र ब्लडपे्रसरका बिरामीको हकमा ४ हजार ९ सय ७० रुपैयाँ शुल्क लाग्छ। मुटु रोग, सुगर भएका बिरामीको हकमा होलबडी परीक्षण गर्दा ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पताल
काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पताल निजी तवरबाट संचालित छ। नर्भिकमा निरोगी १५ देखि ४० वर्षको उमेरका मानिसले होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषका हकमा ६ हजार शुल्क लाग्ने गर्दछ। महिलाको हकमा भने केही महँगो पर्ने अस्पतालले जनाएको छ। यदी सुगर, ब्लडप्रेसरका बिरामीले भने भित्री परीक्षण गर्नुपर्ने र थप शुल्क लाग्ने अस्पतालले जनाएको छ।
ओम अस्पताल
निजी क्षेत्रबाट संचालित चाबाहिलमा रहेको ओम अस्पतालमा पुर्ण स्वास्थ्य परीक्षण गर्दा पुरुषको हकमा १५ हजार पाँचसय र महिलाको हकमा १४ हजार ६ सय रहेको छ।
वयोधा अस्पताल बल्खु
बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो। यहाँसामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल
काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ। यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि हुने गरेको छ। ग्रान्डीमा होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ।
दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ। १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ।



लाेकपाटी न्यूज

