काठमाडौं,२५ चैत। स्वास्थ्य बीमा बोर्डले एक वर्षभित्र मुलुकका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने बताएको छ। २०७२ चैत्र २५ गते कैलालीबाट सुरु भएको कार्यक्रम अहिले ४२ जिल्लामा बिस्तार भएको छ।
आगामी एक वर्ष भित्र बाँकी २५ जिल्लामा लागु गरिसक्ने बोर्डको तयारी छ। यद्यपि राजनीतिक नेतृत्व परिवर्तन, पर्याप्त प्रचारप्रसार, कमजोर व्यवस्थापनका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको जानकारहरु बताउँछन्। यसैबीच बोर्डले सोमबार तेस्रो बीमा दिवस मनाउँदैछ।
स्वास्थ्य प्रदायक संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्य सहित कार्यक्रम लागु गरेको बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए। पोखरेलले बीमा कार्यक्रमप्रति जनताको आकर्षण बढ्न नसकेको स्वीकार गरे। आगामी दिनमा बीमा प्रति जनतालाई आकर्षित गर्न कार्यक्रमलाई प्रभावकारी बनाउने उनको भनाई थियो।
परिचयपत्रको आधारमा बीमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकिन्छ। पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति दश हजारका दरले क्षतिपूर्ति दिइने व्यवस्था रहेको छ।
पाँच जनाको परिवारले बीमा शुल्कवापत प्रत्येक वर्ष २५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्छ। अतिरिक्त सदस्यले भने ४ सय २५ रुपैयाँका दरले शुल्क बुझाउनुपर्छ। बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था रहेको छ।



लाेकपाटी न्यूज

