अब सार्वजनिक सवारी साधनमा अनिवार्य टिकट

city-bus
लाेकपाटी न्यूज

काठमाडौं, २५चैत। सार्वजनिक सवारीका साधनमा यात्रु टिकटलाई अनिवार्य गरिएको छ। काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा टिकटलाई अनिवार्य गरिएको हो।

हाल केही बस सेवा प्रदायकले मात्र यात्रुलाई टिकट दिने गरेका छन्। तर,काठमाडौं महानगरपालिकाले ऐनमै सार्वजनिक यातायात सञ्चालनमा कागजी वा विद्युतीय टिकट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।

कागजी टिकट प्रयोग गरिरहेकाहरुले पनि अब बिस्तारै विद्युतीय टिकटले विस्थापित गर्दै लग्नुपर्नेछ। काठमाडौं महानगरपालिकाले बनाएको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७५’ मा सेवा प्रदायकले गाडी चढ्नु अघि वा चढेलगत्तै यात्रुसँग तोकिएको भाडा लिइ अनिवार्य टिकट दिनुपर्ने प्रावधान राखिएको हो।

विद्युतीय टिकट रहेको खण्डमा ई–टिकेटिङ लगायतका प्रविधिबाट अग्रिम टिकट खरिद गर्न पाउने व्यवस्था सेवा प्रदायकले मिलाउनुपर्ने छ । काठमाडौंका हकमा हाल साझा र महानगर यातायातले मात्रै यात्रुले भाडा दिएपछि टिकट दिने गरेका छन् ।

तर, अब सबै बस,माईक्रो, टेप्पो, ट्याक्सीले टिकटको प्रवन्ध गर्नुपर्नेछ । यात्रु टिकटको आकार प्रकार तथा टिकटमा उल्लेख गर्नुपर्ने जस्ता विषय महानगरपालिकाले तोक्नेछ ।

यात्रु टिकटमा धुम्रपान, मद्यपान, सूर्तिजन्य तथा सार्वजनिक हित बिपरितका वस्तुको विज्ञापन गर्न पाइने छैन । यात्रुले पनि अब काठमाडौं महानगरपालिकाभित्र गाडीमा यात्रा गर्न आफूले चढ्ने स्टपमा वा सवारी साधन चढेलगत्तै तोकिएको भाडा तिरेर टिकट लिनुपर्नेछ ।

सेवा प्रदायकले बालबालकिा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, शहिद परिवारका सदस्य, विद्यार्थी तथा अन्य निर्धारित व्यक्तिलाई तोकिएबमोजिम भाडामा छुट दिएर टिकट उपलब्ध गराउनुपर्नेछ । सहुलियत पाउने यात्रुले पनि सम्बन्धित निकायले जारी गरेको परिचय पत्र देखाउनुपर्ने व्यवस्था बिधेयकमा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्