काठमाडौं, २५ चैत । अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्ष २०७६÷०७७ को बजेट निर्माणको तयारी शुरु गरेको छ । जेठ १५ गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक नियमअनुसार अर्थ मन्त्रालयले बजेट निर्माणको तयारी शुरु गरेको हो ।
संवैधानिक व्यवस्थाअनुसार अर्थ मन्त्रालय आ.व २०७६÷७७ को बजेट निर्माणको आन्तरिक गृहकार्यमा जुटेको छ । बजेटका लागि अर्थ मन्त्रालयले विज्ञहरूबाट आवश्यक सुझावसमेत माग गरेको छ । आन्तरिक राजश्व उप–समितिले सार्वजनिक सूचना जारी गरेर सुझाव मागेको छ । सुझावमा राजश्व नीति, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशूल्क, भन्सार महसुल र गैरकरलगायत रहेका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट राष्ट्रिय योजना आयोगको १५ औं पञ्चवर्षीय योजनाको आधारपत्रमा आधारित हुने जनाइएको छ । राष्ट्रिय योजना आयोगले आ.व २०७६÷०७७ का लागि करिब १५ खर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ । सोही सिलिङभित्र बजेट आउने प्रावधान रहेको छ ।
आगामी आ.वको बजेटबारे प्रधानमन्त्री केपी शर्मा ओली र सबै प्रदेशका मुख्यमन्त्रीबीच पनि छलफल भइसकेको छ । सरकारले गत १५ जेठमा चालू आवका लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।



लाेकपाटी न्यूज
