काठमाडौं, २५ चैत । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेस हिन्दूवादीहरूले थारो गाईलाई पनि गौमाता भनेर दानापानी ख्वाए जस्तो भएको बताएका छन् ।
गोकर्णेश्वर नगरपालिकाको नगर स्तरीय भेलामा पूर्वमन्त्री समेत रहेका श्रेष्ठले नेकपा र काँग्रेस पुराना परम्परावादी दलहरू पुरानो ब्राण्ड भएको बताएका हुन् । ‘जनताले पुराना दलहरूलाई पटक पटक सत्तामा पुर्याए । तर जनताले न शान्ति न सुशासन न समृद्धि केही पनि पाएन ’ उनले भने, ‘थारो गाई ब्याउँदैन, नेकपा र काङ्ग्रेसबाट देश चल्दैन ।’
नेता श्रेष्ठले पुराना दलहरूको जग हल्लिसकेको भन्दै अब आउने निर्वाचनमा तिनीहरूको छानो पनि भत्किने बताए । काङ्ग्रेस कम्युनिष्टले अगाडी सारेको समाजवाद र जनवादको विकल्पमा अब सङ्घीय समाजवाद लिएर आजैदेखि जनताको घरदैलोमा जानुपर्ने उनको भनाइ छ ।
यस्तै उनले गोकर्णेश्वरको प्रत्येक वडामा ससफोको संगठन विस्तार गर्न पनि आग्रह गरे । गोकर्णेश्वर नगरपालिकाका युवा नेता श्रीकृष्ण नगरकोटीको अध्यक्षतामा भएको उक्त भेलामा ससफो, नेपालका राजनीतिक समिति सदस्य नवराज दाहालले ससफो नेपाल सबै जाति जनजातिको साझा पार्टी भएको बताए भने केन्द्रीय सदस्य आङकाजी शेर्पाले राज्यमा सबैको पहुँचमा जोड दिए ।
उक्त भेलाले श्रीकृष्ण नगरकोटीको अध्यक्षतामा ११ सदस्यीय गोकर्णेश्वर नगर समिति पनि गठन गरेको छ ।
समितिमा श्रीकृष्ण नगरकोटी, राजेन्द्र भुसाल, विष्णु लोप्चन, देवी प्रसाद पौडेल, दिया पौडेल, देवकला वराइली, नैनकला प्रधान, यदुनाथ वास्ताकोटी, कमला पुरी, सूर्य लामा र एक बहादुर लामिछाने रहेका छन् ।



लाेकपाटी न्यूज

