अमेरिकासँगको लडाइँमा हुवावेलाई फाइदा

pic 5
लाेकपाटी न्यूज

काठमाडौं, २५ चैत। स्मार्टफोन तथा टेलिकम उपकरण निर्माता चिनिया कम्पनी हुवावे पछिल्लो समय विवादमा परिरहेको छ। यसले कम्पनीमाथि संकट थपिरहेको छ।

कम्पनीका संस्थापक रेन चेंगफेइले भने यसको उज्यालो पाटो हेर्ने प्रयास गरिरहेका छन्। यी चिनिया अर्बपतिले उनको कम्पनीको विश्वव्यापी कार्य विरुद्ध अमेरिकी अभियानको सामना गरिरहेका छन् भने उनकी छोरी तथा कम्पनीकी प्रमुख वित्तिय अधिकृतले आपराधिक अभियोगमा क्यानडाबाट अमेरिका सुपुर्दगी हुने खतरामा छिन्।

तर विगतमा चिनियाँ जनमुक्ति सेनामा समेत काम गरेका रेनलाई यो संघर्षले सकारात्मक नतिजा ल्याउने विश्वास छ।
सिएनएनलाई दिएको अन्तर्वार्तामा उनले अमेरिकी सरकारको आक्रमण तथा दमनले कम्पनीका कर्मचारीहरुलाई सजग बनाउन सहयोग पुगेको बताउँछन्।

रेन भन्छन, ‘वर्षौँ देखिको सफलताका कारण हाम्रो समूह अल्छी, भ्रष्ट तथा कमजोर बन्दै गएको थियो। तर अमेरिकाको आक्रमण र दमनपछि अहिले हामी सबैजना एक्येबद्ध भएका छौँ र हाम्रा उत्पादन तथा सेवालाई अझै उत्कृष्ट बनाउन लागि परेका छौँ।’

रेनको परिवारले सांस्कृतिक क्रान्तिमा समेत पुँजीवादीको आरोपको सामना गरेको थियो। जब उनले सन् १९८७ मा हुवावे कम्पनी स्थापना गरे, चीनमा उनलाई पुँजीवादी परस्त भएको आरोप पनि लगाइयो। पश्चिमा देशले उनलाई कम्युनिष्ट परस्त भन्दै आएका छन्।

तर रेन भने कठिनाई तथा चुनौतिहरुको सामना गर्नैपर्ने यसले कम्पनी तथा कम्पनीका सबै कर्मचारीलाई झनै ससक्त बनाउने बताउँछन्। उनी भन्छन्, ‘हिरोले सदैव धेरै कठिनाईको सामना गर्दछन्। यसले नै तपाईंलाई ससक्त बनाउँदछ। यदि तपाईंलाई कहिल्यै पनि तर्साइएन र घाइते बनाइएन भने तपाइँ कसरी बलियो बन्नुहुन्छ?’

आफ्नी छोरी तथा कम्पनीकी वित्तिय अधिकारीले क्यानडामा भोगिरहेको पीडाप्रति लक्षित गर्दै उनले त्यो पीडा सेत उनका लागि राम्रो शिक्षा भएको र त्यसले उनलाई फाइदा नै गर्ने बताए। चर्चित कम्पनीको कार्यकारीलाई काम गर्न नदिएर यसरी अर्को मुलुकले बन्धक बनाई राख्नु लज्जाको विषय भएको उनले बताए।

अमेरिकाले आफ्ना मित्र राष्ट्रहरुलाई फाइभ जी नेटवर्कमा हुवावेका उपकरण प्रयोग नगर्न आव्हान गरिसकेको छ। हुवावेका उपकरण मात्र बेइजिङले अन्य मुलुकमा जासूसी गरिरहेको आरोप अमेरिकाको छ।  तर हुवावेले भने आफ्ना प्रडक्टहरुबाट कुनैपनि सुरक्षा चुनौति रहेको भन्ने आरोप अस्विकार गर्दै आएको छ। (सिएनएन)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्