रेनुको पहलले महिलालाई ओपीडी निशूल्क

Renu Dahal
लाेकपाटी न्यूज

चितवन। चितवन मेडिकल कलेजले भरतपुर महानगर प्रमुख रेनु दाहालको आग्रहमा अस्पतालमा सेवा लिन आउने महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्ने भएको छ।

आइतबार अस्पतालमा फर्टिलिटी सेन्टर (टेस्ट टयूव बेबी सेन्टर) उद्घाटनको क्रममा भरतपुर महानगरपालिका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य रेनु दाहालले भरतपुर अस्पतालमा उपचारका लागि जाने महिला तथा वृद्धवृद्धालाई महानगरपालिकाको संयोजनमा ओपीडी टिकट निःशुल्क गरिएको भन्दै अन्य निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई पनि महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्न आग्रह गरेकी थिइन्।

सो अवसरमा महानगरपालिका प्रमुख दाहालले देशकै मध्यभागमा अवस्थित भरतपुर मेडिकल सिटीको रुपमा विकास हुँदै गइरहेको भन्दै भरतपुरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सर्वसुलभ, गुणस्तरीय र विशिष्ट प्रकारको सेवा प्रवाहमा विशेष भूमिका खेल्नुपर्ने बताइन्। दाहालले मेडिकल कलेज तथा अस्पतालहरु नन रिफरल सेन्टरको रुपमा सेवा प्रवाह गर्नुपर्ने बताइन्।

उनले सबै प्रकारका रोगहरुको निदान र रोकथाममा चितवनका स्वास्थ्य सम्बन्धि निकायहरुले आफ्नो स्तरवृद्धि गर्नुपर्ने बताइन्। चितवन मेडिकल कलेजले मध्यक्षेत्रकै जन समुदायलाई सेवा पुर्‍याएकोमा प्रशंसा गर्दै उनले निसन्तान बाबु–आमाहरुका लागि बर्थिङ्ग सेन्टर सहयोगी बन्ने विश्वास व्यक्त गरिन्।

सो अवसरमा चितवन मेडिकल कलेजका अध्यक्ष तथा कार्यकारी निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले भरतपुर महानगरपालिका प्रमुख दाहालको आग्रहलाई स्वीकार्दै चितवन मेडिकल कलेजमा उपचारका लागि आउने माहिलाहरुलाई पहिलो चरणमा प्रसुति विभागमा लाग्ने ओपीडी टिकट निःशुल्क गर्ने र क्रमश अन्य विभागमा पनि महिलाका साथै पुरुषहरुलाई समेत ओपीडी टिकट निशुल्क गर्दै लैजाने बताए।

उनले भने, ‘यो हाम्रो सुरुवात हो। मेयर सापको आग्रहअनुसार सबैलाई ओपीडी टिकट निःशुल्क गरी बढीभन्दा बढी बिरामीलाई सेवा दिने हाम्रो लक्ष्य हो।’ छिट्टै यस सम्बन्धी भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच सम्झौता हुने र सोही मितिदेखि यो सेवा प्रवाह गरिने न्यौपानेले बताए।

भरतपुरमा सञ्चालित चितवन मेडिकल कलेजले आइतबारदेखि निसन्तान दम्पतिका लागि बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्