कतार, २४ चैत । सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औं सभामा सहभागी हुन कतार गएका सभामुख महराले अल थानीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा सभामुख महराले नेपाल–कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको बताए ।
समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप मजबुत र प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने उनको भनाइ छ । ‘समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण छ, सभामुख महराले भने, ‘यसका लागि नेपाल–कतार सम्बन्ध थप मजबुत बनाउन जरुरी छ ।’
दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संसदीय मैत्री संघ प्रभावकारी भएको चर्चा गर्दै सभामुख महराले आफूहरुले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराए । छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको उनले बताए ।
नेपालमा विकासको थुप्रै सम्भावनाहरु रहेको भन्दै सभामुख महराले नेपालको कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गरे । कतारमा ४ लाख बढी नेपाली जनशक्ति विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै उनले उनीहरुको पेशागत सुरक्षा र सेवा सुविधाका बारेमा परराष्ट्रमन्त्री अल थानीसँग चासो व्यक्त गरे । ‘कतारमा अहिले ४ लाख बढी नेपालीहरु विभिन्न पेशा र क्षेत्रमा काम गरिरहेका छन्, सभामुख महराले भने, ‘उनीहरुको पेशागत तथा भौतिक सुरक्षा, सेवा सुविधाका लागि सरकारी तहबाट आवश्यक पहल र चासो भइरहनेछ भन्ने हाम्रो चाहना हो ।’
नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै उनले परराष्ट्रमन्त्री अल थानीलाई नेपाल भ्रमणका लागि निम्तो समेत गरे । साथै सो अवसरमा सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताका लागि शुभकामना पनि व्यक्त गरे ।
परराष्ट्रमन्त्री थानीले सभामुख महरासहितको नेपाली संसदीय प्रतिनिधि मण्डललाई कतारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । आइपियूको १४० औं सभाको सन्दर्भमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको भ्रमणले कतार–नेपाल सम्बन्ध थप प्रगाढ बनाउन सहयोग मिलेको उनको भनाइ थियो ।



लाेकपाटी न्यूज

