सियोल । दक्षिण कोरियामा इतिहासकै सबै भन्दा ठूलो डढेलो लागेको छ । दक्षिण काेरीयाकोे उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४ सय भन्दा बढी घर र ९ सय २० भन्दा बढी पशु गोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।
राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका ५ शहर नराम्रोसँग प्रभावित भएका थिए । कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबाट करिब १ सय ६० किलोमिटर उत्तरपूर्वको सानो शहर गोसिङ काउन्टीमा गत बिहीबार राति शुरु भएको थियो ।
हावाहुरी र सुक्खाका कारण तिब्र गतिमा विस्तार भएको आगो नजिकका अरु नगर इलाकामा फैलिएको थियो ।दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आपतकालीन स्थितिको घोषणा गर्दै दशौं हजार खोज तथा उद्धारकर्मीलाई परिचालन गर्ने तथा १० वटाभन्दा बढी हेलिकप्टर परिचालन गर्ने आदेश दिएका थिए । हाल आगो नियन्त्रणमा आइसकेको छ ।
आगलागीबाट १ व्यक्तिको मृत्युसमेत भएको थियो । सरकारी विपद् निकायका अनुसार आगलागीबाट अरु व्यक्ति हताहत भएको खबर प्राप्त भएको छैन तर ठूलो धनसम्पत्तिकोे क्षति भएको छ । अधिकारीहरुले ७ सय २२ जना विस्थापित व्यक्तिलाई २१ वटा आपतकालीन शिविरमा राखिएको जनाएका छन् ।



लाेकपाटी न्यूज

