प्रतिबन्ध हुनसक्छ अब फेसबुक, इन्स्टाग्राम र ट्विटर

social-media
लाेकपाटी न्यूज

काठमाडौं, २४ चैत । बेलायतमा सामाजिक सञ्जालका निम्ति नयाँ कानून पेश भएकाे छ। बेलायतले फेसबुक, इन्स्टाग्राम र ट्विटर लगायत अन्य सञ्जालका निम्ति नयाँ कानून पेश गरेको हो।

यो कानूनमा उल्लेख भएअनुसार यी कम्पनीले काम नगरे कि जरिवाना तिर्नुपर्नेछ वा पूरै बेलायतमा प्रतिबन्ध गरिनेछ। ब्लुमवर्गका अनुसार यी सामाजिक सञ्जालमा आतंकवाद, बालशोषण, यौनशोषण लगायतका हिंसात्मक पोस्ट वा यस्ता गतिविधि बढावा दिने पोस्ट भएमा कम्पनीले तुरून्त हटाउन प्रयास गर्नुपर्नेछ।

सामाजिक सञ्जालमा फैलिने हिंसात्मक गतिविधि हटाउन बेलायतको नयाँ कानूनले कम्पनीहरूलाई निश्चित समयसीमा पनि दिएको छ। जतिसक्दो चाँडो र समयसीमा भित्रै हटाउन नसके यसको प्रष्टीकरण कम्पनीका प्रमूख कार्यकारीले नै दिनुपर्नेछ। कम्पनीहरूलाई जरिवाना कति तिराउने भन्नेबारे टुंगो लागेको छैन।

हिंसात्मक पोस्टका साथै अफवाह फैलाउने झुटा समाचार र चुनावमा प्रभाव पार्ने पोस्टहरू पनि ठेगान लगाउँदै जाने बेलायतको योजना छ। सामाजिक सञ्जालमा भयानक घट्ना लाइभ भएका छन्। यी सबै गतिविधि रोक्न बेलायतले नयाँ कानून बनाएको गृह सचिव साजिद जभिदले जानकारी दिएका छन्।

यस्ता हिंसात्मक पोस्ट हुनुअघि नै रोक्नुपर्छ। यस्ता पोस्ट फैलिन समय लाग्दैन। त्यसैले सुरूदेखि नै नियमन हुनुपर्छ । यो नयाँ कानुनले बेलायती नागरिकको साइबर सुरक्षास्तर बढ्ने र यी सामाजिक सञ्जाल कम्पनीहरू पनि आफ्नो जिम्मेवारीबाट उम्कन नपाउने जभिदले बताएका छन्।

यसअघि फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकसहित सम्पूर्ण इन्टरनेट सेवा कम्पनीहरूमाथि नियमन हुनुपर्ने बताएका थिए। फेसबुकले साइबर सुरक्षामा काम गरिरहेको भए पनि आफू एक्लैले सबै काम गर्न नसक्ने उनले उल्लेख गरेका थिए।

सरकारले इन्टरनेटमा पोस्ट हुने विषयका गुणस्तर मापदण्ड तोक्नुपर्ने र सोही अनुसार सबै कम्पनीले काम गर्नुपर्ने उनले सुझाएका थिए। (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्