बागलुङ, २४ चैत। बागलुङ बजारमा पर्ने घर टहरा हटाउने काम शुरु गरिएको छ। मध्यपहाडी लोकमार्गलाई विस्तार गर्ने क्रममा घर टहरा हटाउने काम शुरु गरिएको हो।
लोकमार्ग निर्माण आयोजनाले तोकिएको मापदण्डविपरीत बनेका घर टहरालाई हटाउने काम शुरु गरिएको छ।बागलुङ–पोखरा खण्ड अन्तर्गत बागलुङ नगरपालिका १ र २ का घर टहरा भत्काएर सडक चौडा पार्न दुवै वडाकार्यालयले सात दिने सूचना समेत जारी गरेका छन्।
हाल बाङगेचौरदेखि सोझै उपल्लाचौर पुग्ने गरी लोकमार्गको रेखाङ्कन भए पनि बजार प्रवेशको बाटो समेत चौडा बनाउन पर्ने भएकोले काम थालिएको वडा नं २ का अध्यक्ष जीवन आचार्यले बताए।चौडा पारिएको सडक कम्तीमा १० मिटरमा कालोपत्रे गर्ने योजना छ। हाल सो खण्डमा ८ मिटर मात्र कालोपत्रे छ।
हाल सो खण्डमा दर्जनबढी घरटहराले बाटो फराकिलो बनाउन अप्ठ्यारो परेको छ। वडा नं १ अध्यक्ष दुर्गे सार्की र आचार्यले सूचना जारी गरेर सात दिनभित्र घर टहरा सार्न आग्रह गरेका हुन्। झण्डै तीन किमी खण्डमा सडक साँघुरो भएकाले सवारी आवागमनमा बढी समस्या पर्ने गरेको छ। आचार्यका अनुसार वडा नं २ का ७ वटा पक्की घर भत्काउनुपर्ने भएको छ।
वडा नं–१ मा भने पक्की घर नपर्ने, बरु टहरा भत्काएर पछाडि सार्नुपर्ने भएको हो। ‘विशेषगरी ट्राफिक चोकदेखि रुद्रेपिपल जाने घुम्तीका मापदण्डमा परेका घर भत्काइने छन्’,आचार्यले भने,‘यी घर यसअघिनै भत्काएको भए पनि बनाउन नपाउने स्थानमै थिए, अहिले सडक चौडाको योजनामा उनीहरुलाई सूचना पठाइएको छ।’



लाेकपाटी न्यूज

