काठमाडौं । बजारमा निकै धेरै ब्राण्ड, फिचर, तथा मूल्यका स्मार्टफोन उपलब्ध छन्।यस्तोमा आफ्ना लागि उपयुक्त स्मार्टफोन खरीद गर्नु सजिलो काम होइन्।
स्मार्टफोन यस्तो होस्, जसमार्फत स्मार्ट फोनबाट लिन सकिने सबै सुविधा प्राप्त गर्न सकियोस्। तर फोन खरीद गर्दा सबैका प्राथमिकता एकै खालका नहुन सक्छन्। कसैले क्यामरामा जोड दिन्छन् त कसैले उच्च क्षमतायुक्त प्रोसेसर भएको गेमिंग स्मार्टफोन।
त्यसैले स्मार्टफोन खरीद गर्दा खासगरी यी ५ मूख्य कुरामा ध्यान दिँदा राम्रो हुन्छ।
बिल्ड क्वालिटीः फोनको भौतिक गुणस्तर कस्तो छ, त्यो थाहा पाउनु आवश्यक हुन्छ। फोनमा धातु वा प्लास्टिकको बडी हुने गर्दछ। केही फोनमा काँचले छोपिएको प्यानल पनि हुन्छ।
तर यस्ता प्रिमियम स्मार्टफोनको मूल्य बढी पर्न सक्दछ। यदि तपाइँ यस्तो व्यक्तिमा पर्नुहुन्छ, जसको हातबाट पटक पटक मोबाइल भुइँमा झर्छ भने तपाइँको स्मार्टफोन बलियो हुनु आवश्यक छ। फोनको स्क्रिनमा गोरिल्ला ग्लास प्रोटेक्सन भएमा सबैभन्दा उत्तम हुन्छ।
डिस्प्लेः स्मार्टफोनको डिस्प्लेले तपाइँको भिजुअल अनुभवलाई सुखद बनाइदिन्छ। यदि सामान्य मूल्यका बजेट फोन किन्दै हुनुहुन्छ भने पनि बजारमा फुल एचडी डिस्प्लेसहितका कैयन् फोनहरु उपलब्ध छन् ।
डिस्प्लेको एस्पेक्ट रेसियोको डिभाइसको कार्यक्षमतासँग त प्रत्यक्ष सम्बन्ध हुँदैन तर डिस्प्लेले स्मार्टफोनको लुक्सलाई अवश्य पनि उत्कृष्ट बनाउन सहयोग गर्दछ ।
बजारमा फूलस्क्रिन डिस्प्लेयुक्त स्मार्टफोन पनि आइसकेका छन् । आफ्नो आवश्यकता र इच्छा अनुरुपको स्क्रिनवाला फोन तपाइँले रोज्न सक्नुहुन्छ ।
प्रोसेसर: स्मार्टफोनको प्रोसेसरसँग फोनमा रहेका एप्सको प्रोसेसिंग स्पीडसँग प्रत्यक्ष सम्बन्ध हुन्छ। यदि तपाइँ स्मार्टफोनको अत्यधिक प्रयोग गर्नुहुन्छ भने स्मार्टफोनमा कम्तिमा स्नापड्रागन ६५२ वा स्नापड्रागन ८२०र८२१ वा त्यसभन्दा उच्च क्षमतायुक्त प्रोसेसर हुनु आवश्यक हुन्छ।
क्यामरा : स्मार्टफोनमा भेजललेस डिस्प्लेसँगै डुअल क्यामरा सेटअप पनि सामान्य जस्तै भैसकेको छ। अहिले त ट्रिपल क्यामरा सेटअप भएका स्मार्टफोन पनि आउन थालिसकेका छन्।
स्मार्टफोन खरीद गर्दा रियर क्यामरा तथा सेल्फी क्यामरा दुवैको क्षमता र त्यसको फिचरका बारेमा ध्यान दिनु आवश्यक हुन्छ ।
ब्याट्री : स्मार्टफोनमा एप र फिचरहरु थप हुँदै जाँदा ब्याट्रीको खपत पनि उच्च हुन्छ। त्यसैले स्मार्टफोन किन्दा कम्तीमा पनि ३००० मिलि एम्पियर आवर क्षमताको ब्याट्री भएको स्मार्टफोन खरीद गर्नुपर्दछ। स्मार्टफोनमा धेरै काम गर्ने र धेरै प्रयोग गर्नेहरुका लागि ३५०० मिलि एम्पियर आवर क्षमताको ब्याट्री हुनु उत्तम हुन्छ।
स्मार्टफोन खरीद गर्दा उल्लेखित कुराहरुका अतिरिक्त स्मार्टफोनको अपरेटिंग सिस्टम, स्टोरेज तथा र्याम, सेक्योरिटी फिचर्स, अडियो वा स्पीकर फिचर, हेडफोन ज्याक÷युएसबी पोर्टको प्रकार आदिका बारेमा पनि जानकारी लिएर मात्रै खरीद गर्नु राम्रो हुन्छ।(एजेन्सी)



लाेकपाटी न्यूज

