विश्वमा ३० करोड मानिस डिप्रेसनको शिकार, नेपालमा कति ?

Depressions
लाेकपाटी न्यूज

काठमाडौं । आज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ र्पुयाउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यकतामा जोड दिँदै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले नजिकको स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सबैलाई आह्वान गरे।

उनले सरकारले स्वास्थ्य सेवाको पहुँच जनताको घरदैलोमा र्पुयाउन आवश्यक व्यवस्था मिलाएको दाबी गर्दै नजिकको स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिन आग्रह गरे। सरकारले चालू आर्थिक वर्षभित्रैबाट स्वास्थ्यमा सबैको पहुँच र्पुयाउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौकी निर्माणको काम सुरू गरेको छ ।

कार्यक्रममा स्वास्थ्यसम्बन्धी चेतना जगाउन चित्रकलाको पनि प्रदर्शन गरिएको थियो। विश्व स्वास्थ्य संगठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । हाल विश्वभर करिब ३० करोड मानिसहरू डिप्रेसनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपालमा भने ८ लाख ९० त्यस्ता रोगीहरूको संख्या रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।
डिप्रेसनको रोगीको संख्या घटाउन पनि नेपालमा गरिबी र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

डिप्रेसन के हो ?

डिप्रेसन ड्याबिटिज,रक्तचाप जस्तै आक्रान्त पार्ने रोग हो। यो मनोरोग भएको हुनाले कुनै ठोस मेडिकल जाँच गरेर पत्तो लाग्दैन। व्यक्तिले महसुस गर्ने सोचविचार,भावनात्मक र व्यावहारिक लक्षणबाटै रोगलाई चिन्न सकिन्छ। डिप्रेसन विश्वमा विकलाङ्गताको दोस्रो प्रमुख कारण हो।

हाम्रो जस्तो देशमा धेरैले देवीदेवता,भुत प्रेत,जादु मन्तर जस्ता कारणले डिप्रेसन तथा अन्य मानसिक रोग हुने विश्वास गर्दछन्, जुन धारणा गलत हो। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक ५ जना वयस्क र बालबालिका मध्ये १ जनामा कुनै न कुनै प्रकारको मानसिक समस्या हुने गरेको छ । यसबाट के पुष्टि हुन्छ भने मानसिक रुपमा समस्या हुने मानिसहरुको संख्या कम छैन ।

डिप्रेसनका लक्षणहरु

मन उदास वा दिक्क भइरहने, कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने ।

खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हिनताबोध हुने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने , एक्लै वस्न रुचाउने।

निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी हुने, खाना खान मन नलाग्ने, झर्को लाग्ने, दिक्क मान्ने

भविश्यप्रति नैराश्यता छाउने, बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउने तथा आत्महत्याको विचार आउने ।

टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन ।

केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।

धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।

भूत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाई रहने।

शंका लाग्ने र कानमा आवाज आउने पनि कसैकसैमा पाइन्छ ।

माथि उल्लेख गरिएका लक्षण हरु यदि लगातार २ हप्ता अथवा त्यो भन्दा बढी समय सम्म देखियो भने यसलाई डिप्रेसन भन्न सकिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्