इन्टरनेटको गती २० गुणा बढ्ने सामसङकाे दाबी

5 G
लाेकपाटी न्यूज

एजेन्सी । यसै हप्ता मात्रै अमेरिका र दक्षिण कोरियाले पहिलो व्यवसायिका फाइभ–जी सेवा सुरु गरेका छन् ।
दक्षिण कोरियामा मोबाइल सेवा प्रदायक तीन कम्पनी र अमेरिकाको शिकागोसमेत दुई शहरका केही भागमा यो सेवा सुरु गरिएको हो ।

यो सेवा सुरु भएको जानकारी दिँद स्मार्टफोनको प्रयोग गर्नेहरुको क्षमतामा विशेष वृद्धि हुने जानकारी दिइएको थियो । दक्षिण कोरियाली कम्पनी सामसङले ग्यालेक्सी एसटेन फाइभ–जी स्मार्टफोन अहिलेका फोनको तुलनामा २० गुणा बढी गतीको हुने दाबी गरेको छ । यसको बिक्री शुक्रबारबाट सुरु भएको छ ।

अहिले थुप्रै देशबीच फाइभजी नेटवर्क बनाउनका लागि होडबाजी चलिरहेको छ जुन भविष्यको प्रविधीका लागि निकै महत्वपूर्ण हुनेछ । यी देश नेटवर्कसँग सम्बन्धित समस्याको हल गर्नका लागि पनि काम गरिरहेका छन् । फाइभजी, मोबाइल इन्टरनेट कनेक्टिभीटी प्रविधीको पाँचौँ पीढि हो । यो तीब्र गतिको हुनेछ र इन्टरनेटमार्फत् गर्नुपर्ने कुनै पनि काम निकै कम समयमा सिद्धाउन सकिन्छ ।

फाइभजीले व्यापक ‘कभरेज’ र स्थिर नेटवर्क कायम रहने बचन समेत दिएको छ । टेलिभिजन र इन्टरटेन्मेन्ट विश्लेषक एड बार्टनले आजको समयमा फोरजीबाट फाइभजीसम्मकमो यात्रा निकै महत्वपूर्ण साबित हुने बताएका छन् । उनका अनुसार वानजी नेटवर्कले आवाजलाई सक्षम बनायो, टुजीले टेक्स्ट (मेसेज) लाई, थ्रीजीले तस्बिरलाई र फोरजीले भिडियो सेयरका लागि सक्षम बनाएको छ । उनी भन्छन्, ‘फोरजीबाट फाइभजी एउटा यस्तो छलाङ हुने हामीले आशा गरिरहेका छौं जुन यसअघि कहिले भएको थिएन ।’

यो छलाङको पहिलो फाइदा भनेको पूरा नेटवर्कमा विशाल डाटालाई ट्रान्सफर (स्थानान्तरण) हुनु हो । फाइभजीको अर्थ यो हो कि धेरैभन्दा धेरै उपकरणलाई उत्कृष्ट स्पिडसहित नेटवर्कमा जोड्न सकिनेछ । टेक्नोलोजी कन्सल्टेन्सी आइडीसी एशिया प्यासिफिकमा वरिष्ठ अनुसन्धान प्रबन्धक निखिल बत्राका अनुसार अहिलेको फोरजीको तुलनामा फाइभजीको गती १० गुणा बढी हुनेछ । यद्यपी, सामसङले भने आफ्नो फाइभजी फोन २० गुणा बढी गतीको हुने दाबी गरेको छ ।

सुरुमा फाइभजी उच्च गुणवत्ता (हाई क्वालिटी) का सामग्री प्रसारण गर्न सक्षम हुनेछ । लाइभ स्पोर्टस् र क्लाउड गेमिङमा रुची राख्ने दर्शकका लागि यो एक उत्कृष्ट अनुभव प्रमाणित हुनेछ । बार्टन भन्छन्, ‘फाइभजीबाट म्यापिङ एप्स र किनमेलको अनुभव उत्कृष्ट हुने । यो ड्राइभरबिनाको कारका लागि निकै महत्वपूर्ण साबित हुनेछन् ।’

यसबाहेक टाढाबाट सर्जरी र होलोग्राफिक भिडियो कल्सलाई पनि उत्कृष्ट बनाउनमा पनि यसले भूमिका खेल्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्