कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

karnali sadak
फाइल तस्वीर
लाेकपाटी न्यूज

सुर्खेत, २४ चैत । शनिबार आएको बाढी र पहिरोले कर्णाली राजमार्गमा दुई दिनदेखि यात्रुहरु अलपत्र परेका छन् ।
शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका हुन् ।

दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रुहरुको आवत जावतमा समस्या आएको छ । दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन । पहिरो हटाउन नसक्दा काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् ।

दहीखोलामा ठूलो पहिरो गएको र दैलेखबाट आएको सानो जेसिबीले अवरुद्ध बाटो खुलाउन नसक्दा यात्रुलाई असहज भएको जिल्ला प्रशासन कालिकोटले जानाएको छ । बेलाबेलामा पानी आइरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । ‘बाटो खुलाउन हामी निरन्तर लागिरहेका छौँ । यद्यपि जनशक्ति र साधनको अभाव छैन ।’

सो स्थानमा स्काभेटर सञ्चालन गाह्रो भएको जनाइएको छ । उक्त पहिरोमा हिँडेर भए पनि जोखिमपूर्ण तरिकाले यात्रा पार गरिएको यात्रु हरिलाल शाहीले बताए । पहिरो गएको ठाउँमा कुनै पनि घर पसल नहुँदा यात्रुलाई खानेपानी र खाजा नास्ता पाउन गाह्रो भएको उनको गुनासो छ । गाडी चालकले यात्रुलाई पनि ठग्ने गरेको कुरा पनि त्यत्तिकै बाहिर आएको छ ।

सडक अवरुद्ध भएको ठाउँमा पसल नभएकाले चाउचाउ बिस्कुट किन्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता रहेको यात्रु दलबहादुर थापाले दुखेसो गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्