नयाँ दिल्ली । भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा भारतीय चलचित्रकर्मी तथा २ सय लेखकहरूले सत्तारुढ दल भारतीय जनता पार्टीको विपक्षमा भोट हाल्न आह्वान गरेका छन् ।
भारतमा यही ११ अप्रिलदेखि लोकसभाको निर्वाचन हुँदैछ । यस क्रममा ६ सयभन्दा बढी भारतीय चलचित्रकर्मी तथा २ सय लेखकहरूले सत्तारुढ दल भारतीय जनता पार्टीलाई भोट नहाल्न आग्रह गरेका हुन् । ६ सय चलिचत्रकर्मीले एक पत्र लेखेर भोटमार्फत नै भाजपा र उसका सहयोगीलाई सत्ताबाहिर पुर्याउन आग्रह गरे । यसरी आग्रह गर्नेहरूमा अमोल पालेकर, नसिरुद्दिन शाह, गिरीश कर्नाड, एमके रैना र उषा गांगुलीजस्ता चर्चित रंगकर्मी पनि रहेका छन् । उनीहरूले मोदीको दल भाजपाका कारण देश र संविधान दुवै खतरामा रहेको बताएका छन् ।
१२ भाषामा तयार गरिएको सो पत्रमा लेखिएको छ, “आगामी लोकसभाको चुुनाव भारतको इतिहासकै सबैभन्दा गम्भीर चुनाव हो ।” उनीहरूले पत्रमा सरकारले कला क्षेत्रको गला रेटेको आरोपसमेत लगाएका छन् । ‘‘आज देश खतरामा छ । गीत, नृत्य, हास्य सबै क्षेत्र खतरामा छन् । हाम्रो प्यारो संविधान खतरामा छ ।” उनीहरूले बहस, तर्क वितर्क र विमर्श हुने क्षेत्र सरकारको मुख्य निशाना बनेको आरोप समेत लगाए । लोकतन्त्रमा सबैभन्दा कमजोरलाई सबैभन्दा बलियो बनाउनुपर्ने भए पनि सरकार कमजोरकै विरोधमा लागेको उनीहरूको आरोप छ ।
गतहप्ता बलिउडका फिल्मकर्मीहरूले पनि मोदी सरकार फासिवादी भएको भन्दै चुनावमा हराउन आह्वान गरेका थिए । यसैगरी भारतका विभिन्न भाषाका २ सय भन्दा धेरै लेखकहरूले मतदाताहरूलाई घृणाको राजनीतिका विरुद्ध मतदान गर्न आग्रह गरेका छन् । ‘स्क्रल डट इन’ को रिपोर्ट अनुसार भारतीय लेखकहरूको संगठन इन्डियन राइटर्स फोरमका तर्फबाट जारी यस अपीलमा विविध र समान भारतका लागि मतदान गर्न भनिएको छ ।
यी लेखकमा गिरीश कर्नाड, अरुन्धती राय, अमिताभ घोष, बाम, नयनतारा सहगल, टीएम कृष्णा, विवेक शानभाग, जीत थायिल, के सच्चिदानन्दन तथा रोमिला थापर छन् । लेखकहरूले अंग्रेजी, हिन्दी, मराठी, गुजराती, उर्दू, बंगला, मलयालम, तमिल, कन्नड, र तेलगु भाषामा यो अपील गरेका छन्।
अपीलमा हस्ताक्षर गर्ने लेखकहरूले भने ‘आगामी लोकसभा चुनावमा देश चौबाटोमा रहेको जस्तो अवस्था छ । हाम्रो संविधानले सबै नागरिकलाई समान अधिकार, खाने स्वतन्त्रता, प्रार्थना गर्ने स्वतन्त्रता, जीवन बाँच्ने स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, तथा असहमति व्यक्त गर्ने स्वतन्त्रता दिएको छ । तर, बितेका केही वर्षमा हामीले देखेका छौं कि नागरिकहरूलाई समुदाय, जाति, लिङ्ग वा क्षेत्रीयताका आधारमा मारपिट वा भेदभाव गरिन्छ वा हत्या पनि गरिन्छ ।’
उनीहरूले भनेका छन्, ‘भारतलाई विभाजित गर्नका लागि नफरतको राजनीतिको उपयोग गरिएको छ । लेखक, कलाकार, फिल्मकार, संगीतकार तथा अन्य सांस्कृतिक कलाकारलाई धम्क्याइन्छ । उनीहरूमाथि हमला हुन्छ । उनीमाथि प्रतिबन्ध लगाइन्छ । जसले सत्ताको बारेमा प्रश्न गर्छ उसलाई प्रताडित गरिन्छ या मनगढन्ते आरोपमा गिरफ्तार गरिन्छ ।’
महिला, दलित, आदिवासी र अल्पसंख्यकमाथि हुने हिंसाका विरुद्धमा कदम उठाउन जरुरी रहेको उनीहरुको भनाइ छ । उनीहरुले सबैलाई रोजगार, शिक्षा, शोध, स्वास्थ्य तथा समान अवसरको आवश्यकता रहेको बताए ।



लाेकपाटी न्यूज

