स्वस्थ र सभ्य महानगर बनाउँछौं : रेनु दाहाल

renu dahal
लाेकपाटी न्यूज

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वस्थ्य र सभ्य समाज निर्माणको क्षेत्रमा भरतपुर महानगर सधैँ क्रियाशील रहेको बताएकी छिन्।

चितवनमा शनिबार आयोजित नेपाल क्षयरोग निवारण संस्थाको ३९ आंै केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले रोगीहरुका बीचमा असल व्यवहारको आवश्यकता रहेको धारणा राखिन्। प्रमुख दाहालले क्षयरोग नियमित औषधि सेवनले निदान हुने भन्दै क्षयरोगको निदान र रोकथामका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताइन्।

भरतपुर मेडिकल सिटीको रुपमा विकास भइरहेको स्मरण गराउँदै उनले सबै प्रकारको रोगको निदान र उपचारमा प्रभवकारी सेवा प्रवाह गर्नु भरतपुर र चितवनको प्रमुख दायित्व हुने बताइन्। यसका लागि भरतपुर महानगरपालिका क्रियाशील रहेको भन्दै प्रमुख दाहालले सोही बमोजिम भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गरिएको बताइन्।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, नेकपाका नेता बद्री तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी लगायतले क्षयरोगका बारेमा धारणा राख्दै सबैको सामूहिक प्रयासबाट क्षयरोगको निदान र नियन्त्रण गर्न सकिने बताएका थिए।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले क्षयरोगविरूद्ध जागरुक बनाउने हाम्रो भावना, क्षयरोगबिनाको संसार देख्ने हाम्रो चाहना भन्ने मूल उद्देश्यका साथ काम भैरहेको बताए। क्षयरोगका बारेमा जानकारी दिँदै उनले क्षयरोगको जिवाणु पत्ता लगाउने डा. रबर्ट ककको योगदानको स्मरण गरे।

क्षयरोगको निदानमा उल्लेख्य काम भइरहेको बताउँदै उनले अझै १३ हजारको हाराहारीमा क्षयरोगका बिरामी उपचारको दायरामा आउन नसकेको बताए। यिनै बिरामीका कारण संक्रमण बढिरहेको उनको भनाइ छ। यसलाई रोक्नु चुनौतीपूर्ण रहेको भन्दै उनले यसको रोकथाममा सबैको सामूहिक प्रयास हुनुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्