पार्किन्सन जटिल र पीडादायी रोग रहेछ : रेनु दाहाल

parkinsan1
लाेकपाटी न्यूज

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पार्किन्सनका बिरामीलाई हौसला दिनुपर्ने बताएकी छिन्। नेप्लिज पार्किन्सन डिजिज एसोसिएसनले शनिबार भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले पार्किन्सन रोगीहरूको हौसला बढाई उत्साही जीवनशैली अपनाउन सबैले हौसला प्रदान गर्नुपर्ने बताइन्।

कार्यक्रमकी प्रमुख अतिथि दाहालले पार्किन्सन रोग पीडादायी र अत्यन्तै जटिल रोग भएको भन्दै यसबारे आफू नजिकबाट जानकार भएको बताइन्। उनले आफ्नो परिवारमै आमालाई पार्किन्सनको समस्या रहेको भन्दै मेडिकल सिटी भरतपुरमा यो सचेतना तथा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा सोसाइटीलाई धन्यवाद दिइन्।

नेपालमा पार्किन्सन सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल नहुनु दुःखद् भएको भन्दै उनले यस सम्बन्धी सेवा प्रदान गर्ने विशिष्ट अस्पताल देशकै मध्यभाग चितवनमा स्थापना र सञ्चालन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। प्रमुख दाहालले यसका रोगीहरूलाई उत्प्रेरणा अपरिहार्य रहेको र यसका लागि पुनर्स्थापना तथा व्यायामशाला सञ्चालन गर्न भरतपुर महानगरपालिकाले सहयोग गर्ने बताउँदै ठोस प्रस्ताव ल्याउन पार्किन्सन एसोसिएसनलाई आग्रह गरिन्।

कार्यक्रमका विशिष्ट अतिथि त्रिवि शिक्षण अस्पतालका डीन डा. जगदीश अग्रवालले पार्किन्सन रोग नसर्ने तर जटिल प्रकृतिको रोग भएको भन्दै यसलाई औषधि र सर्जरीले मात्र जित्न नसक्ने बताए। यसका लागि बिरामीहरूमा उच्च आत्मबल, सहज जीवनशैली र उच्च सतर्कता चाहिने उनले बताए। यसका रोगीहरूलाई सहयोग, हौसला र सहजीकरण गर्नु सबैको दायित्व भएको उनले बताए।

‘यो रोगको सबैभन्दा ठूलो औषधि भनेको हेरचाह हो, बिरामीको नियमित र चलायमान जीवनशैली हो’ उनले भने, ‘समाजका हरेक नागरिकले पार्किन्सनका बिरामीहरूलाई प्रोत्साहित गर्नुपर्छ।’ प्रा.डा. अग्रवालले व्यवहारमा गरेर देखाउँदा मात्र राष्ट्रले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को कल्पना पूरा हुने बताए। देशमै पार्किन्सन रोगको अनुसन्धान तथा पुनर्स्थापना केन्द्र स्थापना गर्नुपर्ने बताउँदै यसका लागि चितवन उपयुक्त स्थान भएको उनले बताए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा. भोजराज अधिकारीले पार्किन्सन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्किन्सन रोग विशिष्ट प्रकारको जीवनसँग जोडिने रोग भएको बताए। उनका अनुसार पार्किन्सन रोग लागेका बिरामीमा शरीरको सन्तुलनमा समस्या हुन्छ। ‘शरीरको फुर्ती हराउने, हातगोडाको शक्ति कम हुने, हिँडाइमा समस्या हुने, बिस्तारै हातगोडा हल्लिने, मानसिक रुपमा कमजोर हुने, शरीर अररो हुँदै गएर अन्तिममा बेडमै हुने हुन्छ।’

उनले भने, ‘यो विशेषगरि जेनेटिक कारणले हुन्छ। ६० वर्षपछिको उमेरपछि धेरै हुन्छ। तर, विषादी, केमिकल, टाउकोमा चोट आदि कारण र टाउकोमा रगत जम्यो भने पनि हुन सक्छ। पूर्ण निको हुने उपचार हुन्नँ। तर। दबाइले उमेर लम्ब्याउने र सजिलो जीवन बनाउँछ, सजिलोसँग हिँडडुल गर्न सक्ने बनाउँछ। समाजमा यो रोगबारे खासै महत्व दिइन्न’ डा. अधिकारीले भने।

‘उमेरको परिवर्तन होला भनिन्छ। तर, पत्ता लागे रोग बिग्रन रोकेर सजिलो जीवन जिउन सकिने बनाउन सकिन्छ’ उनले भने। यसको रोकथामका लागि विषादीहरूको प्रयोगमा रोक लगाउनु पर्ने, सन्तुलित आराम, व्यायाम र भोजनको प्रयोग गर्नुपर्ने र सहज जीवनशैली, रमणीय व्यवहार अपनाउँदा यसको असरलाई कम गर्न सकिने डा. अधिकारीले बताए।

नेप्लिज पार्किन्सन डिजिज एसोसिएसनका अध्यक्ष तथा अमृत साइन्स कलेजका सहप्राध्यापक मुनाल सुवेदीले पार्किन्सन रोग, यसले पार्ने प्रभाव र यसका रोगीहरुले भोगिरहेका समस्याहरुका बारेमा आफ्ना अनुभवहरु सुनाएका थिए। न्यूरो चिकित्सक डा. राजीव ओझाले पार्किन्सन रोग सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। उनले यस्ता रोगीहरुलाई उपचारका लागि अस्पतालसम्म लैजाने प्रक्रियाका बारेमा जानकारी गराएका थिए।

कार्यक्रम सोसाइटीका अध्यक्ष मुनाल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। अन्तरक्रिया कार्यक्रम हुनुभन्दा अगाडि नारायणगढको क्याम्पाचौरदेखि भरतपुरको चौबीसकोठीसम्म सचेतनामूलक र्‍याली निकालिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्