काठमाडौं, २३ चैत । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमणलाई हटाउने भएको हो । महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरिपरि, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्म, चाबहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाउन लागेको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यही चैत २१ गतेदेखि नै उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए ।
महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि प्रदूषण नियन्त्रण गर्ने, करिडोर खोल्ने, जेब्राक्रसिङ र लेनलाई विशेष व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, आकाशे पुल निर्माण गर्ने, ट्राफिक भोलेन्टिर निर्माण गर्नेलगायतका कार्ययोजना अगाडि सारेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सडक फुटपाथ अतिक्रमण हटाएसँगै ट्राफिक व्यवस्थापनमा सुधार आउने बताएका छन् । उनले भने, ‘सडक र सडकका किनारामा जथाभावी पसल राख्दा वा पार्किङ गर्दा सवारी जाम हुने गरेको छ, सडक फुटपाथ अतिक्रमण आएसँगै जाम घट्ने विश्वास हामीले लिएका छौँ।’
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । जसमध्ये ११ लाख हाराहारीमा सवारी साधन काठमाडौं उपत्यकामा सञ्चालित छन् ।



लाेकपाटी न्यूज

