यसरी फलाउनुस् घरको छत र भित्तामा तरकारी

training
लाेकपाटी न्यूज

दाङ, २३ चैत । दाङमा टिम नेपो दाङले बजार क्षेत्रमा गर्न सकिने तरकारी खेतिसम्बन्धी तालिम दिएको छ । बजारमा बसोवास गर्ने नागरिकलाई करेसा बारी, कौशी र छतमा गरिने तरकारी खेती सम्बन्धी प्रशिक्षण दिइएको हो ।

पृथु टेक्निकल कलेज बनगाउँका सहायक प्रध्यापक गोबिन्दराज सेढाईले कौशीमा मात्रै नभइ छत, घाम लाग्ने भित्तामा पनि तरकारी फलाउन सकिने बताए । गमला, प्लास्टिक, झोलामा माटो राखेर तरकारी, फलफूल, मसलाजन्य बस्तु सजिलोसँग फलाउन सकिने उनको भनाइ छ । सेढाईले भने ‘४०–४५ ओटा गमलामा तरकारी रोप्ने हो भने बाह्रैमास हरियो खान सकिन्छ । खेर गएको प्लास्टिकका बोत्तलमा माटो भरेर, थैलोमा माटो भरेर सजिलै खेति गर्न सकिन्छ ।’

लहरेबाली, मसलाजन्य वाली खुर्सानी, धनियाँ, प्याज, लसुन सजिलोसँग फलाउन सकिने सेढाईले बताए । उनले भने ‘छत, भित्ता, कौसीमा खेती गर्दा धेरै सजिलो हुन्छ। तरकारी टिप्न खेतबारीमा जानै पर्दैन । अगेनामा भाँडो बसालेर तरकारी छतबाटै टिप्न सकिन्छ । सानो परिवारलाई सहजै हरियो तरकारीको लागि छतमै खेती गरेर तरकारी र्पुयाउन सकिन्छ ।’

लमहीका खुबीराम बेल्वासेले छतमा तरकारी फलाउन थालेको दुई वर्ष भएको बताए । गाउँको बसाई हुँदा खेतबारीमा तरकारी फलाएका बेल्वासे बजारमा सरेपछि हरियो तरकारीको लागि छतमा खेती गर्न थालेका हुन्। ‘तरकारी किनेर खानु परेको छैन’ उनले भने, ‘डेढ फिट माटो राखेर छतमा तरकारी खेती गरेको छु । कसरी खेती गरेको छु हेर्न आउन सक्नुहुन्छ ।’

प्रशिक्षणमा सहभागिहरुलाई उपप्रध्यापक कृष्ण अर्याल, सहायक प्रध्यापक गोविन्दराज सेढाई र विद्यार्थी शिव न्यौपानेले करेसाबारी, छत र कौशीमा गरिने तरकारी खेतीको उपायको बारेमा प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्