किन भयो प्रधानमन्त्रीको भ्रमण स्थगित ?

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको अर्धमहाकुम्भ मेलाको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ । सुनसरीको चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुवै जना सहभागी नहुने भएका हुन् ।

शनिबारदेखि सुरू हुन लागेको अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए पनि मोसम गडबडप्का कारण स्थगित गरिएको हो । मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारील बताएका छन् । ‘प्रधानमन्त्री चतरा जाने कार्यक्रम तय भए पनि शनिबारको मौसममा खराबी आएकाले स्थगित भएको छ’, प्रेस संयोजक अधिकारीले भने ।

अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगितपछि उनले आफ्नो लिखित सम्बोधन पठाएका छन् । प्रधानमन्त्रीले पठाएको लिखित सम्बोधन आयोजकले पढेर सुनाउने संयोजक अधिकारीले बताए । यसअघि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि उक्त कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर, उनले पनि अन्तिममा आएर आफ्नो कार्यक्रम स्थगित गरेको जानकारी आयोजकलाई दिएका छन् ।

प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सहभागी हुने कार्यक्रम अन्तिममा आएर स्थगित भएपछि आयोजकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गराउने तयारी गरेको राईका प्रेस संयोजक ध्रुव सुवेदीले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्