कपिलवस्तु, २२ चैत। कपिलवस्तुमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। एक महिनाअघि कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर ४ की २६ वर्षीया अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले अनिताका पतिसहित ३ जनालाई पक्राउ गरेको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा उनका श्रीमान बाबुराम पौडेल, देवदह नगरपालिका वडा नम्बर १० का गुनाखर अधिकारी र श्रीहरि गौतमलाई सार्वजनिक गरेको हो।
पक्राउ परेका ३ जनामध्ये मुख्य आरोपी गुनाखर अधिकारी रहेको प्रहरीले जनाएको छ। अनिताका पति बाबुराम पौडेलले ७ लाख रुपैयाँ दिने सहमति भए पछि गुनाखर अधिकारीले अनिता पौडेलको गत फागुन ११ गते अनिताकै घरमा हत्या गरेको पुष्टि भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए।
अनिता र उनका पति वाबुराम पौडेलबीच केही वर्ष यता राम्रो सम्बन्ध नरहेको, अन्य पारिवारिक कारण र सम्पत्ति एक्लै आफ्नो बनाउन श्रीमतीको हत्याको योजना उनकै पतिले गरेको प्रहरी उपरीक्षक पुडासैनीले बताए।पक्राउ परेका ३ जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ।



लाेकपाटी न्यूज

