गार्डले चिट चोराउन प्रश्नपत्र बाहिर पठाएपछि

SEE Exam Form
लाेकपाटी न्यूज

जनकपुरधाम,२२चैत। प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको प्रदेश २ को एसइई परीक्षा फेरि सुर भएकै दिन एक गार्डले चिट चोराउन प्रश्नपत्र बाहिर पठाएका छन्।

धनुषाको बरकुर्वा परीक्षा केन्द्रबाट अनिवार्य विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरू भएको केहीबेरमै आउट भएको हो। परीक्षा हलमा मोबाइल लिन निषेध गरिएको भए पनि एक परीक्षार्थीले मोबाइलमा फोटो खिचेर बाहिर पठाएका थिए। ‘चिट चोराउन’ बाहिर बसेका अभिभावकले प्रश्नपत्र आउट भएको भन्दै हल्ला गरेपछि घटना सार्वजनिक भएको हो।

प्रश्नपत्र आउट भएलगत्तै निरीक्षण तथा अनुगमनको संयुक्त टोली उक्त परीक्षा केन्द्र पुगेको थियो। टोलीले गार्ड बसेका एक जना शिक्षकलाई पक्राउ गरेको छ। फकिर चन्दगामी माध्यमिक विद्यालयका शिक्षक शंकर यादवले मोबाइलबाट फोटो खिचेर बाहिर पठाउन सघाएको प्रहरीले जनाएको छ।

यादवले आफ्नो मोबाइल परीक्षार्थीलाई दिएका थिए। परीक्षार्थीले त्यही मोबाइलबाट फोटो खिचेर प्रश्नपत्र बाहिर पठाएका थिए। प्रहरीले फोटो खिचेर पठाएको भन्दै ४ विद्यार्थीलाई पनि नियन्त्रणमा लिएको छ।

यसअघि दुई विषयका प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश २ को एसइई परीक्षा २१ गतेसम्मका लागि स्थगित भएको थियो। प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले परीक्षार्थीसमेत रहेका २ प्रहरीसहित ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्