अन्तरीक्षमा कसको फोहोर कति ?

india
लाेकपाटी न्यूज

काठमाडौं । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार भारतले हालै परीक्षण गरेको स्याटेलाइट ध्वस्त पार्ने मिसाइलका कारण अन्तरीक्षमा सिर्जना भएको फोहोरले अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस) मा भयानक खतरा पैदा भएको छ।

नासाका प्रमुख जिम ब्राइडेन्स्टाइनका अनुसार भारतले स्याटेलाइट प्रतिरोधी मिसाइल परीक्षणका क्रममा ध्वस्त पारेको स्याटेलाइट कैयौँ टुक्रामा क्षतविक्षत भएको छ। यस्ता साना ठूला टुक्राहरुको संख्या ४ सय भन्दा धेरै छ। अन्तरीक्षमा थुप्रिएका यिनै भग्नावशेषका टुक्राहरुले स्पेस स्टेसनलाई खतरामा पार्नसक्ने नासाले चेतावनी दिएको छ।

नासा टाउनहलमा बोल्दै ब्राइडेन्स्टाइनले भारतले ध्वस्त पारेको स्याटेलाइटबाट सिर्जित टुक्राहरु मध्ये धेरै ठूलो आकारका छन्। स(साना टुक्राहरुलाई नासाले ट्रयाक गरेको र ठूला टुक्राहरुको खोजी भैरहेको नासाको भनाई छ। अन्तरीक्ष मिसनका लागि यस्ता गतिविधिहरुले भविष्यमा निरन्तरता पाएमा त्यो सकारात्मक नहुने नासा प्रमुखको भनाई छ।

उनले भनेका छन्, ‘भारतीय भुउपग्रह नष्ट गर्ने क्रममा पैदा भएको फोहोरका ६० वटा साना टुक्राहरुको पहिचान भएको छ। तीमध्ये २४ वटा टुक्राहरु स्पेस स्टेसनको माथिबाट गएका छन्।’ उनी अगाडि भन्छन्, ‘यो अस्विकार्य छ। यसको असरका विषयमा नासा पूर्णरुपमा जानकार तथा स्पष्ट छ।’

यसअघि अमेरिकी सेनाले अन्तरीक्षमा फोहोरका टुक्राहरु फेला पारेको थियो र त्यस्ता टुक्राहरु स्पेस स्टेसन तथा आफ्ना स्याटेलाइटहरुका लागि खतरनाक भएको बताएको थियो। नासा प्रमुखका कारण भारतको पछिल्लो मिसाइल परीक्षणका कारण अन्तराष्ट्रिय स्पेस स्टेसनमा ४४ प्रतिशतले खतरा बढेको छ।

यद्यपि समयक्रम सँगै यो खतरा घट्दै जानेछ किनकी विस्तारै वायुमण्डलमा झरेसँगै ती टुक्राहरु जल्नेछन्।
अमेरिका नै अन्तरीक्षमा सबैभन्दा धेरै फोहोर गर्ने मुलुकमध्येमा एक हो।

तर अमेरिकाले आफ्नो हिसाबले अन्तरीक्षमा फोहोरको अनुगमन गर्दछ। अन्तरीक्षमा ठूलो आकारका फोहोरका टुक्राको संख्या ६ हजार भन्दा धेरै छ। त्यसमा भारतका कारण पैदा भएका फोहोरका टुक्राको संख्या करीब १ सय मात्र छ।

चीनले सन् २००७ मा एन्टी स्याटेलाइट मिसाइलको परीक्षण गरेको थियो। त्यसक्रममा चीनले ८ सय किलोमिटर भन्दा टाढा अन्तरीक्षमा रहेको आफ्नो स्याटेलाइट नष्ट पारेको थियो। उक्त परीक्षणबाट सिर्जित टुक्राहरुमध्ये केही अझै अन्तरीक्षमै छन्।

सन् १९५७ मा पहिलोपटक अन्तरीक्षमा स्पुतनिक अन्तरीक्षयान प्रक्षेपण भएको थियो। त्यसयता अहिलेसम्म ८ हजार कृत्रिम भुउपग्रह अन्तरीक्षमा परीक्षण गरिसकिएको छ। अहिले पनि अन्तरीक्षमा करीब २ सय स्याटेलाइटहरुले काम गरिरहेका छन्। ती मध्ये अधिकांस अमेरिकाकै रहेका छन्। त्यसपछि रुस र चीनका धेरै छन्। अन्तरीक्षमा फोहोर ती मानव सिर्जित वस्तुहरु हुन् जसको अब अन्तरीक्षमा कुनै प्रयोग गर्न सकिने सम्भावना छैन्।

नासाको एक अनुमान अनुसार अन्तरीक्षबाट दिनहुँ औषतमा एउटा फोहोरको टुक्रा पृथ्वीमा झर्दछ। त्यो फोहोर या त पृथ्वीमा झर्दछ, या त वायुमण्डलमा प्रवेश गर्नासाथ जलेर खरानी हुन्छ। पृथ्वीमा खस्ने यस्ता टुक्राहरु अधिकांस समुद्रमा खस्ने गरेका छन्। किनकी पृथ्वीको ७० प्रतिशत भाग पानीले ढाकेको छ।

तर पछिल्लो ६० वर्षभन्दा अघि देखि जारी अन्तरीक्ष अभियानका क्रममा निस्किएको फोहोर ठूलो परिमाणमा आजपनि अन्तरीक्षमा रहेको छ। अहिलेसम्म अन्तरीक्षको फोहोर पृथ्वीमा खसेर कुनै क्षति भएको सुनिएको छैन।

कुनै समय चिनिया स्पेस स्टेसन थियांगोंग पृथ्वीसँग ठोक्किने चर्चा चलेको थियो। अन्ततः त्यो यान पृथ्वीमा कुनै नोक्सानी नपूराइकन समुद्रमा खसेर नष्ट भयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्