‘मलाई पावरको सोख हाेइन विकासको भोक छ’: प्रधानमन्त्री

KP Sharma Oli
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पावर सोख नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई पावरको सोखको सट्टा विकासको भोक रहेको बताएका हुन् ।

प्रधानमन्त्री मातहतमा अधिकांश निकाय रहेकोमा आलोचना भइरहँदा ओलीले अहिलेको शासन प्रणालीमा प्रधानमन्त्री नै सबैभन्दा शक्तिशाली हुने उल्लेख गरेका हुन् । राष्ट्रिय विकास परिषद्को समापन समारोहमा प्रधानमन्त्री ओलीले अहिलेको प्रणाली केन्द्रिकृत नभएको दाबी गरे । उनले भने, ‘यो प्रणालीमा प्रम नै शक्तिशाली हुन्छ । तर, अहिलेको प्रधानमन्त्रीलाई पावरको सोख छैन । उसमा देश र जनतामाझ परिवर्तन अनुभूत गराउने संकल्प, हिम्मत र अठोट छ । प्रधानमन्त्रीमा विकासको भोक छ ।’

उनले पावर हङ्गर मभएको र हङ्गर अफ चेन्ज र हङ्गर अफ डेभलपमेन्ट भोक रहेको बताएका छन् । उनले हङ्गर अफ डेभलपमेन्टको कारणले एक ढंगले कुनै कदम चाल्न पर्यो भने त्यो पावरको कुरा नहुने बताए । उनले भने, ‘प्रधानमन्त्रीले पावर केन्द्रित गर्यो भन्छन् कतिपयले । यस प्रणालीमा प्रधानमन्त्री अलिअलि पावरफूल नै हुन्छ । किनभने जनताले र संविधानले त्यो पावर दिएका छन् ।”

दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाको आधारपत्रमा सुझाव ग्रहण गर्दै उनले यो प्रथम संघीय योजना रहेको दाबी गरे । यो रुपान्तरणले नेपालको परिचय र पहिचान नै बदल्ने उनले बताए । उनले भने, ‘अवश्य नै यस योजनाले देशको अवस्था, स्थिति, पहिचान र परिचय बदल्छ । हामी १५ औं पञ्चवर्षीय योजनाको अवधिभित्र एलडीसी (अतिकम विकसित देश) को ‘एल’ कट्टी गर्दैछौं ।’

शिक्षा, स्वास्थ्य क्षेत्रका मापदण्डमा एल कटाउने, गरिबी निवारण, न्यूनीकरण वा निवारणको क्षेत्रमा एल कटाउने, मानव विकास सूचकांकका प्रश्नहरुमा एल कटाउने उनको योजना छ । एल कटाउने कार्यक्रम १५औं योजनाको अघिल्लो अवधिमै हुने उनको दाबी छ । त्यसका लागि योजना र नीति बन्नुपर्ने र प्रयास त्यसअनुसार केन्द्रित हुनुपर्ने उनको बुझाइ छ ।

पाँच वर्षको अवधिमा नेपालको राष्ट्रिय उत्पादन कमसेकम ५० प्रतिशतले वृद्धि भएको हुनुपर्ने उनले बताए । उनले भने, ‘यस रफ्तारमा गयौं भने, त्यस जगमा अर्को पञ्चवर्षीय योजना हामीले त्यस जगमा उभिएर अगाडि बढाउन सक्छौं, जसले हामीलाई आर्थिक उन्नतिको क्षेत्रमा थप गति दिन सक्छ ।’ उनले यसका लागि नेपालीले आफूले रोजेको संघीय प्रणाली ल्याएको बताए । यो प्रणाली केन्द्रीकृत भयो भन्नेका लागि उनको जवाफ छ, ‘नीतिहरु स्प्रेजस्तो १ नीतिहरु गाउँपालिकाबाट केन्द्रमा आउने होइन, केन्द्रबाट स्प्रे गरेजसरी एक ठाउँबाट निस्किन्छ र छरिन्छ देशभरि ।’

त्यसका लागि सरकारका विभिन्न तह रहेको उनले बताए । यसले हाम्रो प्रणालीको शारीरिक बनावट तय गरेको र यो बनावट अरिमठे भन्ने किरोजस्तो भएको उनको दाबी छ । उनले भने, ‘अरिमठेको धेरैवटा खुट्टा हुन्छ । त्यसले भ्यागुताको जस्तो अगाडिका दुईवटा पछाडिका दुईवटा गरेर बुरुक्क उफ्रिने गर्दैन । धेरैवटा खुट्टा भएपछि सबै खुरुरुरु चलाउँछ । हाम्रा पनि ७ सय ६१ वटा ९७५३ स्थानीय तह, ७ प्रदेश र १ संघीय सरकार० खुट्टा छन् । त्यसमा एउटा संघीयताको खुट्टा मूल हो, जसले तान्ने काम गर्छ । ७ वटा खुट्टाले घट्याक घट्याक चलाउँछन् र ७ सय ५३ वटा अरु खुट्टा सबै नचले देश बन्दै बन्दैन ।’

अब खुट्टाहरुलाई निष्कृय, निष्प्रभावी बनाएर देश नचल्ने दाबी उनले गरे । यसका लागि सरकारले लक्ष्य तय गरिसकेको उनको दाबी छ । उनले भने, ‘ढुंगा टिपेर फ्याँक्ने र जहाँ खस्छ, त्यसलाई निशाना भन्ने हामी गर्दैनौँ । निशाना यो हो भनेर तोक्छौँ र त्यस टार्गेटमा लक्ष्य भेदन गर्छौं । हाम्रो तरिका त्यो हो विकासको ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्