यौन पेशा बाध्यता हो, पेशा परिवर्तन गर्न चाहन्छौं : बादी समुदाय

badi women
लाेकपाटी न्यूज

कैलाली, २२ चैत । लैङ्गिक उत्पीडन भोग्दै आएका बादी समुदायका महिलाहरुले आफुहरुले पेशा परिवर्तन गर्न चाहेको बताएका छन् ।

बादी समुदायका महिला बाध्यतावश यौन व्यवसायमा लागेकाले आफूजस्तै आफना बालबच्चाले यो व्यवसाय अँगाल्नु नपरोस् भन्ने उनीहरु चाहन्छन् । नेपालको पिछडिएको समुदाय हो बादी समुदाय । अल्पसङ्ख्यकरुपमा रहेको वादी समुदाय आर्थिक, सामाजिकरुपमा निकै उत्पीडनमा छ । यो समुदायका महिलाले लैङ्गिक उत्पीडन भोग्दै आएका छन् ।

कैलाली जिल्लाका विभिन्न ठाउँमा यो समुदायको बसोबास रहेको छ । जिल्लाको बल्चौर, सत्ती, मुढालगायतका ठाउँमा बसोबास गरिरहेका उनीहरु अवसरको खोजीमा छन् । धेरै नपढेका तथा कैयाैं वर्षदेखि खुलेआम यौन व्यवसाय गर्दै आएका यो समुदायका महिला आजभोलि भने यौन व्यवसाय त्यागेर अरु नै व्यवसाय गर्न चाहेको बताउँछन् ।

कैलालीको मुढामा बसोबास गरिरहेकी ४२ वर्षीया सुमित्रा वादी राज्यले अवसर सिर्जना गरिदिनुपर्ने बताइन् ।
‘पहिलेदेखि नै हाम्रा पुर्खाले यौन व्यवसायलाई आयआर्जनको लागि मुख्य व्यवसाय बनाए र हामी पनि त्यसैमा लाग्याैं, तर अब हाम्रा सन्तान त्यस व्यवसायमा नलागुन् भन्नेमा हामी सचेत छाैं’, उनले भनिन्, ‘समय परिवर्तन भइसक्यो, अब हाम्रो चेतनास्तर पहिलेका हाम्रा पुर्खाको जस्तो रहेन, त्यसैले यो देहव्यापारको काममा हाम्रा छोरीचेली नलागुन् भन्नेमा हामी लागिरहेका छौँ ।’

मुुढाको बादी बस्तीमै बसिरहेकी एक १५ वर्षीया बादी किशोरीले पढ्ने चाहना हुँदाहुँदै आफूले आर्थिक अवस्थाका कारण पढाइ छाड्नुपरेको बताइन् । पन्ध्र वर्षकै कलिलो उमेरमा घरको आर्थिक अवस्था राम्रो नभएका कारण देह व्यापारमा लाग्नुपरेको उनको भनाइ छ ।

‘मेरा पनि सपना र चाहना थिए, अभिभावकले अँगालेको पेशा नभएर समुदायबाट शिक्षितको सूचीमा आउने मन थियो, तर सबै चकनाचुर भयो’ उनले रुँदै भनिन्, ‘मेरा साथीभाइ अझै विद्यालय जान्छन्, तर म पाहुना कुर्नुपर्ने स्थितिमा छु, आफूलाई देखेर आफैँसँग लाज लाग्छ ।’ केही अवसर पाए आफू दिनरात मेहनत गरेर बुबाआमाको र आफ्नो पेट पाल्न लागिपर्ने र देह व्यापारको काम छाड्ने उनले बताइन् ।

सुदूरपश्चिम प्रदेशकी वादी समुदायकी एक्ली प्रदेशसभा सदस्य उमादेवी वादीले सरकारले पाँच वर्षअघि वादी समुदायका लागि ल्याएको जनता आवास कार्यक्रम हुने खानेले धमाधम घर बनाउन थाले पनि हुँदा खानेहरूको पुरानै स्थिति रहेको बताइन् । सरकारले विभिन्न चरणमा ल्याएका विभिन्न सीपमूलक कार्यक्रमले पनि वादी महिलाले पुस्तौँदेखि अँगाल्दै आएको यौन पेशालाई प्रतिस्थापन गर्न नसकेको उनको भनाइ छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०६५ पुस २३ गतेको बैठकले यौन पेशामा लागेका बादी महिलालाई आत्मसम्मानका साथ पुनःस्थापना गर्ने निर्णय गरे पनि आयआर्जनको विकल्प नभएका कारण महिलाले यो पेशा छाड्न सकेका छैनन् । कानूनीरुपमा यहाँ यौन व्यवसाय गर्न समस्या भएपछि यस समुदायका किशोरी भारतका विभिन्न स्थानमा गएर देह व्यापार गर्न बाध्य छन् ।

आफूहरुले बारम्बार आयआर्जनको विकल्प दिन सरकारसँग माग गरेको भए पनि कसैले आफूहरुको कुरा नसुनेको वादी महिलाले दुखेसो पोखे । अहिले आर्थिकरूपमा आत्मनिर्भर बन्ने र पुरानो पेशालाई त्याग्ने सोचमा वादी समुदायका महिला रहेका भए पनि आयस्रोतको गतिलो माध्यम नभएका कारण समस्या हुने गरेको बादी महिला बताउँछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्