इएनआई छायाँछवि डी सिने अवार्डका लागि ९४ चलचित्रकाे अवलोकन गरिँदै

11 d cine award
लाेकपाटी न्यूज

काठमाडौं, २१ चैत । विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको इएनआई डी सिने अवार्ड–२०७५को ११ औं संस्करणका लागि जुरीहरुले चलचित्र हेर्ने काम शुरु भएको छ ।

नेपाली चलचित्र उद्योगकै इतिहासमा पहिलो पटक १० औं फिल्मी अवार्ड गर्न सफल इएनआई छायाँछवि डी सिने अवार्डको ११ औं संस्करणका लागि चलचित्र दर्तासँगै निर्णायकहरुले हेर्ने काम पनि शुरु गरिएको हो ।

‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै इएनआई छायाँछवि डी सिने अवार्ड आयोजना हुने गरेको छ । वि.सं २०६६ सालबाट प्रारम्भ भएको यो अवार्ड मूख्यतया डिजिटल फम्र्याटलाई आधार मानेर तत्कालिन अवस्थामा प्रारम्भ गरिए पनि समयको परिवर्तन सँगसँगै चलचित्रहरु पूर्णत डिजिटल हुन पुगेपछि स्वतः डिजिटल फम्र्याटका चलचित्रहरुले सहभागीता जनाउने गरेका छन् । पूँजीले मात्र होइन प्रविधिबाट पनि चलचित्रको गुणस्तर विकास गर्न सकिन्छ भन्ने मान्यतालाई प्रोत्साहन गर्नुका साथै प्राविधिक एवं कलाकारलाई हौसला प्रदान गर्नका निमित्त डी सिने अवार्ड गरिने गरेको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए । विगतका वर्षहरुमा उपत्यका बाहिर समेत गर्ने गरिएको एक मात्र यो अवार्ड यस पटक पुनः काठमाडौंमै गरिने भएको पनि प्रियले बताए ।

यस वर्ष प्रदर्शन भइसकेका÷भइरहेका ९४ चलचित्रहरुले इएनआई छायाँछवि डी सिने अवार्ड–२०७५ मा सहभागीता जनाइरहेका छन् । ९४ चलचित्रलाई ‘प्रिजज’ बाट सिफारिस गरिएपछि मात्र यी निर्णायकहरुले चलचित्र हेरिरहेका छन् । निर्णायकमा वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला निर्णायक संयोजकको रुपमा रहेका छन् भने निर्णायकहरुमा बरिष्ठ पत्रकार, निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती तथा नेपालकै पहिलो महिला छायाँकार सवनम मुखिया रहेका छन् ।

नेपालकै प्रतिष्ठित एवं विश्वसनीय अवार्डका रुपमा हेरिने गरिएको इएनआई छायाँछवि डि सिने अवार्ड –०७५ यस पटक आगामी बैशाख २१ गते काठमाडौंमै आयोजना गरिने आयोजक संस्था छायाँछविले जनाएको छ । अवार्डको मुख्य प्रायोजक एस टी सी ग्रुप अन्तरर्गतको इएनआई लुब्रिकेन्टस् रहेको छ ।

यस अघि डी सिने अवार्ड पहिलो, दोस्रो र तेस्रो संस्करण राष्ट्रिय नाँचघर जमलमा, चौथो, पाँचौं र छैठौं नेपाल प्रज्ञा प्रतिष्ठानमा, सातौं कार्की वैंकट बवरमहलमा, आठौं ग्राण्ड होटल पोखरामा, नवौं ओम सिनेमा हेटौंडामा, दशौं राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न भइसकेको छ भने ११ औं पनि काठमाडौंमा भइरहेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्