काठमाडौं, २१ चैत । सरकारले भ्रष्टाचार हुन नदिनका लागि विभिन्न नारा लगाइरहेकै बेला पनि एक हप्तामै घुस लिएको अभियोगमा चौध कर्मचारी पक्राउ परेका छन्।
सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणमा कठोर नीति अख्तियार गरेपनि स्थायी सरकार मानिने कर्मचारीमा घुस खाने प्रवृत्ति भने घट्न सकेको छैन । अख्तियारले दैनिकजसो घुससहित पक्राउको क्रम बढाउँदासमेत कर्मचारीका घुस्याहा प्रवृत्ति कायमै रहेको तथ्यांकले देखाएको हो ।
पछिल्लो समय अख्तियारले घुससहित एक प्रहरीलाईसमेत पक्राउ गरेको छ । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । सहज रूपमा श्रम स्वीकृत मिलाइदिने भन्दै उनले घुस लिएको पाइएपछि पक्राउ गरिएको हो ।
यस्तै सोमबार आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायब सुब्बा सबिन सुवेदी घुससहित पक्राउ परे । स्वास्थ्य चौकी भवन निर्माण सम्पन्नपछि नियमअनुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनका लागि सुवेदीले सेवाग्राहीसँग १५ हजार घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै घुससहित पक्राउ गरेको थियो ।
गत शुक्रबार एकै दिन अख्तियारले भ्रष्टाचारको आरोपमा पाँच कर्मचारीलाई पक्राउ गरेको छ । बाराको सिमरास्थित डिभिजन वन कार्यालयका प्रमूख अधिकृत शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकर प्रसाद केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी घुससहित पक्राउ परेका हुन् । ठाकुर र केशरीलाई २५ हजार तथा कार्यालय सहयोगी अधिकारीलाई ९० हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।
कवाडी मालसामानको ठेक्काका लागि उनीहरूले अग्रिम घुस लिएका थिए । ठेकेदारले पहिल्यै अख्तियारलाई खबर गरेपछि तीनजना फन्दामा परेका थिए ।
त्यस्तै मोरङको लाटिझोडास्थित सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सलाउद्दिन अन्सारी पनि शुक्रबार नै घुससहित समातिएका छन् । वन पैदावार उपलब्ध गराउन सिफारिस गरिदिएबापत सेवाग्राहीसँग उनले ३५ हजार घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई डिभिजन वन कार्यालय विराटनगरबाट पक्राउ गरेको जनाइएको छ।
यस्तै गत शुक्रबार नै प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव वीरेन्द्र सिन्हा पक्राउ परे । तारेखमा गएका बेला उनलाई अख्तियारले हिरासतमा लिएको थियो । तत्कालीन कृषि विकास कार्यालय पर्साका प्रमूख रहँदा उनले लाखौँ अनियमितता गरेको प्रमाण भेटिएपछि नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत बिहीबार पनि दुई कर्मचारी घुससहित पक्राउ परेका थिए । ललितपुरको महानगरपालिकाको नक्सा शाखाका अमिन वीरेन्द्र चन्द २० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । उनले प्राविधिकमार्फत जग्गा नापजाँच गरेर क्षेत्रफल निक्र्योल गरी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले अख्तियारलाई खबर गरेर घुस दिएका थिए । घुस लिएको केही समयमै उनी महानगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ परेका थिए ।
त्यस्तै पश्चिम नवलपरासीको बर्दघाटस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा कनिष्ठ सहायक अञ्चल सुनार पनि बिहीबार घुससहित रंगेहात पक्राउ परेका थिए । सेवाग्राहीको स्वीकृत भइसकेको ऋण रकम निकाल्न नमिल्ने गरी रोक्का राखेर उनले घुस लिएका थिए । अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई १० हजार घुससहित पक्राउ गरेको हो ।
हिजो बुधबार बाराबाट तीन कर्मचारी पक्राउ परेका थिए । मालपोत कार्यालय कलैया दरबन्दी भएका लेखापाल जुगल ठाकुर र नायब सुब्बा शत्रुघन पटेल तथा मालपोत कार्यालय सिमराका प्रमूख मदन गुप्ताका निजी सवारीचालक सुनील पटेल पक्राउ परेका हुन्।
अख्तियारले केही महिनायता दैनिकजसो कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिरहेको छ । तरपनि कर्मचारीतन्त्रमा घुसखोरी रोकिएको छैन । घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेका छन्।
मंगलबार धनुषाको जनकपुरस्थित राइजो वियम तथा घाँसेबारी बिउबिजन प्रयोगशालामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा. रामगुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरी घुससहित पक्राउ परेका थिए । उनीहरूले भुक्तानी आदेशबापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । उनीहरू ४० हजार घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सेवाग्राहीको काम बढी हुने कार्यालयमा कडा निगरानी बढाएको छ । स्टिङ अपरेशनसमेत अघि बढाउँदै अख्तियारले भ्रष्टाचार नियन्त्रण र घुसखोरी प्रवृत्तिमाथि निगरानी बढाएपछि दैनिकजसो घुस्याहा कर्मचारी पक्राउ पर्न थालेका हुन् । पछिल्लो समय अख्तियारप्रतिको जनविश्वास बढेको कारण पनि कर्मचारीले घुस माग्नसाथ सेवाग्राहीले अख्तियारमा उजुरी गर्न थालेका हुन्।


लाेकपाटी न्यूज

