काठमाडौं, २१ चैत । सरकारी अस्पतालमा वेड नपाउने, आवश्यक परेको समयमा एम्बुलेन्स नपाउने र चिकित्सक नहुने समस्या समाधान गर्न सरकारले डिजिटल हेल्थ सेवा सुरू गर्ने भएको छ ।
बिरामीले उक्त सेवा मोबाइल एप्सको माध्यमबाट लिनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उक्त एप्सको माध्यमबाट स्वास्थ्य सेवा र चिकित्सक भएको नभएको, उपकरणलगायतका बारेमा जानकारी घरमै बसेर थाहा पाउन सकिने बताए ।
उनले भने, ‘नजिकको अस्पताल, ब्लड बैंक, एम्बुलेन्सलगायत स्वास्थ्य सेवा प्रदायक संस्था एप्समा समेट्ने परिकल्पना गरिएको छ। अहिले सञ्चालनमा रहेका स्वास्थ्य सेवाको बारेमा सम्भाव्यता अध्ययनसहित छलफल भइरहेको छ।’
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमूख डा. दीपेन्द्ररमण सिंहले ई–हेल्थ स्ट्राटेजी बनाउने तयारी भएको जानकारी दिए । उनले भने, ‘यो सेवा आगामी आर्थिक वर्षबाट लागु हुने गरी काम भइरहेको छ ।’
मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले स्वास्थ्य सुविधाबारे जानकारी दिन एप्सको व्यवस्था गर्न लागिएको बताइन् । उनले भनिन्, ‘यो एप्सको माध्यमबाट अनलाइन सेवा पनि लिन सकिने छ। एप्स तयार पार्न मन्त्रालयले प्रविधिविज्ञसहितको टोली गठन गरेको छ।’



लाेकपाटी न्यूज

