काठमाडौं, २१ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र ‘लिक’ गराउने ६ जना अभियुक्त सार्वजनिक भएका छन् ।
एसइई परीक्षाको प्रश्नपत्र ‘आउट’ मा संलग्न दुई प्रहरीसहित छ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो र सप्तरी प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी प्रहरी र अन्यलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय कल्याण्डपुरमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डल छन्। यस्तै, विष्णुदेव यादव, मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।
प्रदेश नम्बर २ मा चैत १४ र १५ गतेको एसइई परीक्षाको प्रश्नपत्र बाहिरिएको थियो। सो प्रकरणको अनुसन्धानमा जुटेको ब्युरोले प्रहरीसमेतलाई पक्राउ गरी सार्वजनिक गरेको हो । ब्युरो प्रमुख निरजबहादुर शाहीका अनुसार सबैलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी अनुसन्धान थालिएको छ। शाहीका अनुसार १४ गते सामाजिक र १५ गते विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको थियो।
प्रश्नपत्र जवान सुनरैतमार्फत सार्वजनिक भएको शाहीले बताए। उनले फोटो खिचेर विष्णुदेव यादवलाई पठाएको फेला परेको शाहीले बताए । पक्राउ परेकाहरूलाई शिक्षा ऐन, चोरी ऐनलगायत मुद्दा आकर्षित हुने प्रहरीले जनाएको छ । ‘सरकारी वकिलसँग हामी परामर्शमा छौं,’ शाहीले भने, ‘के कस्तो मुद्दा चलाउनेबारे टुंगो लाग्ने छ।’



लाेकपाटी न्यूज

