वीरगञ्ज, २१ चैत। आइतबार साँझ बारामा आएको भुमरीसहितको हावाहुरीले गहुँ तथा अन्न बाली नष्ट गर्दा रु पाँच करोडभन्दा बढीको क्षति भएकोे छ।
सो शक्तिशाली भुमरीसहितको हावाहुरीले एक हजार ५०५ बिघामा लगाइएको गहुँ, मसुरो मकै फलफूल तथा तरकारी बाली पूर्णरुपमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ। दुई हजार २३१ बिघा क्षेत्रफलमा लगाएको सो बाली आंशिकरुपमा क्षति हुँदा करीब रु पाँच करोडभन्दा बढीको अन्नबाली नष्ट भएको ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले बताए। हावाहुरीले सबैभन्दा बढी प्रभावित पारेको फेटा गाउँपालिका–१ भलुही, भरवलीया, त्रिवेणी वडा नं ५ गमहरिया वडा नं ६ पुरैनियामा मात्रै करीब ५० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गहुँ खेती पूर्णरुपमा नष्ट गरेको कृषि अधिकृत रामजीवन ठाकुरले बताए।
फेटाको भलुही, भरवलीया, बलिरामपुर र फूलबरीया, देवताल गाउँपालिकाको रामपुर्वा, तेलकुवाँ र बेनौली, सुवर्ण गाउँपालिकाको प्रशुरामपुर, हर्दिया, जमुनिया र चरमोहना, गढीमाई गाउँपालिकाको तेलकुवा, परवानीपुर गाउँपालिकाको बुनियाद, रामपुर, टोकनी, लिपनीमाल, चैनपुर र बहुवरी, पचरौता गाउँपालिकाको बेनौली र सखुवाटमा करीब ८०० बिघा क्षेत्रफमा लगाइएको गहँुबाली, २०० बिघा क्षेत्रफलमा लगाइएको मसुरो, ३०० बिघा क्षेत्रफलको मकै तथा २०० बिघा क्षेत्रफलको तरकारी तथा फलफूल खेती पूर्णरुपमा क्षति भएको छ।
हावाहुरीबाट आँपका बोटमा रहेका फल (टिकुला) समेत अत्यधिक मात्रामा झरेकाले सो क्षेत्रका किसान मारमा परेका छन्। किसानले आँपको बोटमा मन्जरी लागेकै बेला व्यापारीलाई बेच्ने गरेकाले हावाहुरीले आँपको बोटमा समेत क्षति पुर्याएकाले व्यापारी घाटामा रहेका किसान जाकिर मियाँको गुनासो छ। सो हावाहुरीबाट बारामा रु ३५ लाखभन्दा बढीको चौपाया, पशुपक्षी मरेको अनुमान गरिएको छ।



लाेकपाटी न्यूज

