तीन दिन पानी पर्ने, यस्ताे छ माैसम विभागकाे अनुमान

Rain-8
लाेकपाटी न्यूज

काठमाडौं, २१ चैत । आगामी ३ दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले तीन दिनसम्म मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ ।

गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ ।

काठमाडौँ उपत्यकामा बिहीबार दिउँसो केहीबेर मौसम खुल्ला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था छैन । राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना छ । शुक्रबार देशका मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । उच्च हिमाली भूभागहरुका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र अधिकमत तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै धनगढीको अधिकमत तापक्रम सबैभन्दा बढी ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्