हजुरआमाले नै जन्माइन् आफ्नी नातिनी

लाेकपाटी न्यूज

एजेन्सी । अमेरिकी प्रदेश नेब्रस्कामा ६१ वर्षीय महिलाले आफ्नो छोराको सन्तानलाई जन्म दिएकी छन् । उनले सरोगेसीमार्फत आफ्नो छोराको सन्तानलाई जन्म दिएकी हुन् ।

यो एउटा अनौठो घटना मानिएको छ । तर, उनले यसरी सरोगेसीमार्फत नातिनी जन्माउन पाएकामा अत्याधिक खुसी व्यक्त गरेकी छिन् । सीसेली एल्ज नामक महिलाले आफ्नो समलिङ्गी छोरा, म्याथ्यु र तिनका पति एलिओटकी छोरीलाई गत हप्ता जन्म दिएकी हुन् । छोरा म्याथ्युले परिवार सुरु गर्न चाहेको बताएपछि आफूले नै यस्तो प्रस्ताव गरेको सिसेलीले बताइन् । उनी भन्छिन्, ‘अवस्य पनि पहिले त मेरो कुरा सुनेर उनीहरु हासे ।’

उनका अनुसार सुरुवातमा सबैले यसलाई मजाक र ठट्टाका रुपमा लिएका थिए र व्यवहारिक नभएको ठहर गरेका थिए । म्याथ्युका पति एलिओट भन्छन्, ‘तर उनका लागि यो कुरा सधैँ एउटा सुन्दर भावना थियो । उनी अत्यन्तै उदार महिला हुन् ।’ म्याथ्यु र एलिओटले सन्तान जन्माउनेबारे आफ्ना चिकित्सकसँग सल्लाह लिँदा डाक्टरले पनि सो उपायले काम गर्ने सुझाव दिए । त्यसपछि नै सीसेलीको अन्र्तवार्ता लिइयो र उनीमाथि विभिन्न परीक्षणहरु गरियो । सबैमा सफल भएपछि उनी सरोगेसीका लागि योग्य ठहरिएकी हुन् ।

उनले भनिन्, ‘म मेरो स्वास्थ्यबारे अत्यन्तै सचेत रहने गर्छु । त्यसैले म मेरो कोखमा सन्तान राख्न सक्छु भन्नेमा मलाई कुनै शंका थिएन ।’ यसका लागि म्याथ्युले आफ्नो स्पर्म दिएका हुन् भने उनका पति एलिओटकी दिदी ‘एग डोनर’ बनेकी थिइन् । म्याथ्युका अनुसार साधारण जोडीले आइभीएफ प्रक्रिया अपनाउन सक्थे तर आफूहरु समलिङ्गी भएका कारण नै आफ्नो जैविक सन्तानलाई जन्म दिने यो उनीहरुको एक मात्र आशा थियो । उनी भन्छन्, ‘हामीलाई पहिले नै थाहा थियो यस विषयमा हामीले असाधारण रुपमा सोच्नुपर्छ ।’

उनका अनुसार सीसेलीको गर्भअवस्था सामान्य र स्वस्थ रह्यो तर उनले त्यसअघि आफ्ना तीन सन्तानलाई जन्माएको तुलनामा योपटक ज्यादै फरक अनुभूति गरिन् । उनका अनुसार पहिलोपटक गर्भ प्रत्यारोपण गरिसकेपछि प्रेग्नेन्सी किटमा टेस्ट गर्दा नेगेटिभ देखिएको थियो जसपश्चात् सबैजना दुःखी र उदास भएको उनले बताइन् ।

यसरी पछि मात्र उनका पतिले किटमा अर्को गुलाबी धर्का देखाउँदै त्यस क्षणलई अविश्वसनीय खुसीको पलमा बदलेको उनको भनाइ छ । यसरी आफ्नो आँखा कमजोर भएकाले नतिजा राम्रो देख्न नसकेको उनले उनले हाँस्दै बताइन् ।

सो क्षेत्रमा समलिङ्गी विवाहले कानुनबाट अनुमति पाइसकेपनि समलिङ्गी अभिभावकलाई सन्तान अपनाउन दिने गरिएको छैन । त्यसैले समलिङ्गी व्यक्तिहरु प्रतिको अपहेलना र विभेदलाई कम गराउने उद्देश्यका साथ आफूहरुले यो कथा दुनियाँलाई सुनाउन चाहेको सिसेलीको भनाइ छ ।