आगलागीबाट एक करोड बढीको धनमाल नष्ट

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । रुपन्देही, उदयपुर र ओखलढुङगाका विभिन्न स्थानमा भएका आगलागीबाट करिब १ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित धादिङ काफलचौर–९ बस्ने ६० वर्षीय माइला तामाङको खाजा घरमा ग्याँस चुलोमा आगो बाल्ने क्रममा बुधबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका–४ रम्वापुरस्थित रिलायन्स पेपर फ्याक्ट्रीको कम्पाउण्डभित्र रहेको गोदाममा बिद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब १ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–९ बस्ने यामबहादुर खत्रीको घरभित्र बालेको दियोबाट आगो सल्कन गई मंगलबार साँझ आगलागी हुँदा घर, घरभित्र रहेको लत्ताकपडा, भाडाबर्तन लगायतका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यसैगरी ओखलढुङगाको सिद्धिचरण नगरपालिका–१ तलुवा भोर्ले बस्ने शिवमाया पुलामी मगरको फुसको छानो भएको घर र मतान घरमा मंगलबार दिउँसो आगलागी भई आगो फैलिएर सोही स्थान बस्ने भिमबहादुर आले मगरको फुसको छानो भएको घरमा समेत आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा स्थानीय प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्