काठमाडौं, २० चैत । रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिएर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरण हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिएर पिएसबीमा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई आग्रह गरेका हुन् ।रेडियो नेपालको ६९ औँ वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले प्राविधिकरुपमा आधुनिक र आर्थिकरुपमा सक्षम भई जनताका चाहना र अनुसन्धानमा आधारित प्रसारण संस्थाका रुपमा रुपान्तरित हुन आग्रह गरे ।
पिएसबीका लागि भौतिक र कानूनी प्रवन्ध शुरु भइसकेको छ । स्रोत र दर्शककोसमेत प्रतिनिधित्व हुने संरचनासहित स्वायत्त संस्थामा रुपान्तरित गरिने पिएसबीको अवधारणामा उल्लेख छ । उनले भने, सम्भवतः अर्को वर्ष रेडियो नेपालले योरुपमा वार्षिकोत्सव मनाउँदैन । हामी पिएसबीमा गएका हुनेछौँ । त्यसका लागि आइपर्ने चुनौती र अवसरको सामना गर्न तयार हुनुस् । ठूलो प्रशासनिक फेरबदल हुनेछ । रेडियो नेपाल र टेलिभिजनको इतिहासमा उथलपुथल आउनेछ ।’
सरकारले रकम दिन्छ भनेर हात बाँधेर बसेर नहुनेमा जोड दिँदै उनले भने, ‘यो वृद्धभत्ता बाँड्ने संस्था होइन । यसलाई १६ वर्षको जवानीमा फर्काउनुपर्छ । यो देशलाई एउटै मालामा उन्ने राष्ट्रिय आवाज हो । हरेक बिहान मानिसलाई ब्यूँझाउने संस्थामा सबैले इमानदार भएर काम गर्नुपर्छ ।’
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संस्थाले प्रसारण प्रविधिमा सुधार गर्दै २१ भाषामा कार्यक्रम उत्पादन गरिरहेको जानकारी दिए । कार्यक्रममा रु. ५१ हजार राशिको रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मानबाट गायक भक्तराज आचार्य र जेबी टुहुरेलाई सम्मानित गरियो ।



लाेकपाटी न्यूज

