काठमाडौं, २० चैत । आइतबार साँझ आएको हुरीका कारण क्षणभर मै अस्तव्यस्त बनेको बाराका पुरनिया र भरवलियाका स्थानीयले बुधबारसम्म पनि अस्थायी बासस्थान पाएका छैनन्।
विनासकारी हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको पुरैनिया र भरवलियाका स्थानीयले तत्काल उचित बासस्थानको व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारसंग माग गरेका छन्। सुरक्षाकर्मीहरु अस्थायी वासस्थान बनाउने काममा जुटे पनि बस्ती नै उजाड भएकाले तत्काल सबैले ओत लाग्न सक्ने गरि अस्थायी टहरा बन्न सक्ने अवस्था देखिएको छैन्। घर, खेतमा लगाएको अन्न बाली र घरभित्र राखेको खाद्यान्न र लत्ताकपडा पनि नरहेपछि उनीहरुले तत्काल टाउको लुकाउने छाप्रो र खाद्यान्नको व्यवस्था गर्न माग गरेका हुन्।
बालबालिका र वृद्धवद्धाहरुको अवस्था अन्त्यन्तै दयनीय बनेको छ। धुलाम्य चौरमा चर्को घाममुनि बस्न बाध्य बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्याको उच्च जोखिम देखिन्छ। घटना लगत्तै विभिन्न संघ संस्था र सरकारी निकायहरु राहत सामाग्री लिएर सो स्थानमा पुगेको भएपछि बासस्थान तथा अन्य आवश्यक लत्ताकपडाको समस्या सम्बोधन हुन सकेको छैन्। खुल्ला आकाशमुनि बस्दा दिनभरको घाम र रातको सित तथा लामखुट्टेको टोकाइबाट झाडापखाला लगायतको प्रकोप देखा पर्न सक्ने जोखिम बढेको छ।
गाँउमा पीउने पानी तथा आवश्यक सरसफाईको लागि आवश्यक पर्ने पानीको अभाव भएको छ। राहतसँगै आउने पानीको बोटल बाहेकको पानीको प्रबन्ध हुन नसक्दा आवश्यक सरसफाईमा ध्यान पुर्याउन सकिएको छैन्। स्कुलको छाना पनि भत्काएकाले स्कुल जाने बालबालिकाको पढाई पनि प्रभावित बनेको छ। भित्र्याउने समयको पर्खाइमा रहेको गहुँबाली हावाहुरीले पुरै चउरमा परिणत गराएको छ। एकै परिवारका ४ सदस्य सम्मको हावाहुरीका कारण मृत्यु भएको छ।
परिवारका सदस्य , आफन्त , छिमेकी गुमाएका पुरनिया र भलवलिया गाउबाँसीका आँखा ओभानो हुन सकेका छैनन्। घटना लगत्तै प्रदेश सरकार, विभिन्न राजनीतिक दलका शिर्ष नेता घटनास्थल पुगि राहतको घोषणा गरेका छन्। तर केन्द्र सरकार तथा प्रदेश सरकारले अस्थायी बसोबाससंगै स्थायी बसोबासका लागि कुनै योजनाको घोषणा गरेका छैनन्। आइतबास साँझ आएको विनासकारी हावाहुरीका कारण २७ जनाको ज्यान गएको थियो। ६ सय भन्दा बढी घाइते भएका छन्। हावाहुरीबाट ठूलो आर्थिक क्षति भएको छ।



लाेकपाटी न्यूज

