कुखुराको भालेसहित सुत्केरी भेट्न पुगे गाउँपालिका अध्यक्ष

1554118407photo
लाेकपाटी न्यूज

भोजपुर । स्थानीय तहका प्रतिनिधिले चाहे भने जनताको घरदैलोसम्म पुग्न र जनताको अभिभाकत्व पूरा गर्नको लागि के सम् मगर्न सक्छन् भन्ने उदाहरण बनेका छन् गाउँपालिका अध्यक्ष गजेन्द्र कार्की। भोजपुरको अरुण गाउँपालिकाका अध्यक्ष रहेका कार्की गाउँपालिकाका कोही पनि महिला सुत्केरी भए भने कुखुराको भाले बोकेर भेट्न पुग्छन् ।

उनको पहलमा अरुण गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सुत्केरी महिलाको स्वास्थ्य र पोषणको अवस्था बुझ्न घरदैलो अभियान सुरु गरेको छ। अभियानअन्तर्गत बच्चा र आमाको स्वास्थ्य अवस्था चेक गर्ने, बच्चाको जन्मदर्ता गराउने र पोषणका लागि सामग्री उपलब्ध गराउने लगायतका कार्य हुने गरेका छन्।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, स्थानीय स्वास्थ्यकर्मी, वडा सचिव लगायतको टोलीले घरमै पुगेर अवस्था बुझ्ने गरिएको गाउँपालिका उपाध्यक्ष विनीता ढकालले बताइन्। टिमले प्रसूति भएका महिलालाई घरमै भेटेर कुखुराको भाले, चामल, पाँच सय रूपैयाँ नगद र बच्चालाई एक जोर कपडा लगायतका सामग्री समेत प्रदान गर्ने गरेको छ ।

‘गाउँपालिकाभित्र बसोबास गर्ने जुनसुकै महिला प्रसूति भएमा जनप्रतिनिधि सहितको टोली घरमै गएर प्रसूति स्याहारका लागि आवश्यक पर्ने सामग्री प्रदान गर्न थालेका छौँ’, अध्यक्ष गजेन्द्रबहादुर कार्कीले भने । गत माघ महिनाबाट गाउँपालिकाले सुरु गरेको यो अभियान निरन्तर चालू छ ।

सुत्केरीको आर्थिक अवस्था पहिचान गर्ने, कमजोर भएमा आवश्यक खाद्यान्न, लत्ताकपडा दिने, स्वास्थ्य अवस्था कमजोर भएमा स्वास्थ्य उपचारको व्यवस्था गर्न गाउँपालिकाले अभिभावकत्व ग्रहण कार्यक्रम सञ्चालन गरेको अध्यक्ष कार्कीको भनाइ छ ।

अरूण गाउँपालिका ६ की सुत्केरी महिला शोभा राई कटुवाल खुसी हुँदै भन्छिन्, ‘भनेको समयमा आफ्नो माइतबाट समेत भेट्न आउन सम्भव हुँदैन । तर, गाउँपालिकाबाट सबै आएर आफ्नो स्वास्थ्य अवस्था बुझ्ने र सामग्री दिने कार्य साह्रै राम्रो हो। गाउँपालिकाको यस्तो कार्यले जनप्रतिनिधि र स्थानीयको सम्बन्ध पनि राम्रो हुन्छ, सबैलाई जनप्रतिनिधिलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको पनि विकास हुन्छ ।’

अरूण गाउँपालिकाका सात वडामा यो कार्यक्रम सुरु भएको हो । सुरक्षित प्रसूतिका लागि प्रोत्साहन गर्न पनि गाउँपालिकाको निर्णयअनुसार यो कार्यक्रम सुरु गरिएको उपाध्यक्ष ढकालले बताइन्।

गाउँपालिकाभित्र यो अभियान सुरु भएपछि गाउँले पनि उत्साही देखिएको वडा सचिव विदुर भट्टराईले बताएका छन् । सुत्केरी अवस्थामा आर्थिक अवस्था पनि कमजोर हुने परिवारलाई गाउँपालिकाको सहयोगले थप मद्दत पुगेको वडा सचिव भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्