काठमाडौं, २० चैत । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आबद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गरेकी छन्।
६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं जिल्ला संघ, काठमाडौं जिल्ला बचत संघ, राष्ट्रिय सहकारी विभाग लगायतका संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्याललाई सहकारीकर्मीहरुलाई त्यस्तो आग्रह गरेकी हुन्। व्यवसायिक सहकारीलाई मन्त्रालयले प्रोत्साहन स्वरुप अनुदान दिने व्यवस्था गरेको भन्दै मन्त्री अर्यालले सहकारीमार्फत मान्छेको जीवनस्तर सुधार्नका निम्ति आग्रह गरिन्। उनले भनिन्, ‘सहकारीमार्फत हामीले मान्छेको जीवनस्तर सुधार्ने हो तपार्इंहरु त्यसतर्फ लाग्नुस्। सहकारीमा आबद्ध सदस्यलाई सीपमूलक तालिम दिएर व्यवसायिक बनाउनुस्। उनीहरूलाई उत्पादनमा वृद्धि गर्ने कार्यमा लगाउनुस्।’ सहकारी अब उद्योग, पर्यटन, कृषिमा जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारी आफ्ना सदस्यहरुको जीवन बदल्ने अस्त्र बन्नुपर्ने बताइन्।
मन्त्रालय अहिले सहकारी क्षेत्रको निर्माणको दिशामा रहेको भन्दै उनले अहिले सहकारीको संख्या आवश्यकताभन्दा धेरै भएको गुनासो आइरहेका बेला त्यसको मर्जिङ गर्ने कार्यमा अगाडि बढेको उनले बताइन्। उनले अहिले भएका सहकारीको संख्यालाई कम गरेर आधाभन्दा कम गरिने समेत बताइन्। उनले भनिन्, ‘सहकारीको संख्या अहिले अत्यधिक छ। यसलाई मर्जर गर्ने अभियानमा हामी लागेका छौं । अबको पाँच वर्षमा अहिलेका सहकारीको सङ्ख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडी बढेको छ ।’
मन्त्री अर्यालले सहकारी बढी भन्दा बढी गाउँ केन्द्रित हुनुपर्ने बताइन्। सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब सहकारी गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने बताइन्।
मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम शुरू गरेको भन्दै मन्त्री अर्यालले यसलाई काठमाडौं आसपास हुँदै देशैभर विस्तार गरिने बताइन्। सहकारीलाई उद्योगको रुपमा विकास गरेर गरीबी न्यूनीकरणका निम्ति प्रमूख कार्य गरिने भन्दै उनले सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका स्थानीय तहहरुमा गरीब लक्ष्यित कार्यक्रम सञ्चालन गरिने समेत बताइन्।
एउटा स्थानीय तह एउटा सहकारीले जिम्मा लिने गरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आधार भनेको सहकारी नै भएको बताइन्।



लाेकपाटी न्यूज

