काठमाडौं, २० चैत । चीनका ठूला कम्पनीहरुमध्ये एक चाइना मेशिनरी इन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत र सडक तथा सुरुङमार्ग निर्माण गर्ने आशयसहित प्रस्ताव दर्ता गरेको छ ।
लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने सडक तथा सुरुङ मार्ग र जलाशययुक्त ७५६ मेगावाटको तमोर हाइड्रोपावर आयोजनामा लगानी गर्ने आशयसहितको प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको हो ।
उक्त कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनामा लगानी गर्ने आशय व्यक्त गरेको छ । सम्भाव्यता अध्ययन भइसकेका यी पाँच आयोजनाहरुको लागत करिब ९० अर्ब लाग्ने अनुमान गरिएको छ । यी पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।
खानेपानीका यी आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन कम्पनी आफैंले तयार गर्ने, चीन सरकारसँग समन्वय गरी चाइना एक्जिम बैंकमार्फत नेपाल सरकारलाई सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गराइएको सिएमइसीको नेपालका प्रतिनिधि विश्वास खतिवडाले जानकारी दिए। कम्पनीले सबै आयोजनाहरुमा लगानी छिटो जुटाउन इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एण्ड फाइनान्स (इपिसिएफ) मोडालिटीमा आयोजना अघि बढाउने प्रस्ताव गरेको खतिवडाले बताए।
उनले भने, ‘खानेपानी जस्तो कुरा जनताको मौलिक हक अधिकारसँग जोडिएको हुँदा यो जस्तो महत्वपूर्ण आयोजना अरु केही हुन सक्दैन । सरकारले यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरी अघि बढाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौं । सोहीअनुसार नै खानेपानी आयोजना अगाडि बढाउने र लगानी जुटाएर निर्माणको काम गर्ने कम्पनीले प्रस्ताव गरेको छ।’
यसैगरी सिएमइसीले सामाखुसी टोखा नुवाकोटको छहरे सडक तथा सुरुङमार्ग निर्माणमा समेत चासो देखाई प्रस्ताव पेश गरेको छ। नेपाल र चीन जोड्नका लागि यो सडक अति महत्वपूर्ण रहेको खतिवडाले बताए। काठमाडौंबाट छोटो दूरीमा चीनको केरुङ पुग्न सजिलो हुने भएकाले यस सडक आयोजनालाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
कम्पनीले सहुलियतपूर्ण ऋण सहयोगमा यो सडक आयोजना अघि बढाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा गत आइतबार दर्ता गराएको हो । यो आयोजनाको लागत करिब २७ अर्ब रहेको अनुमान गरिएको छ ।
त्यस्तै सिएमइसी कम्पनीले ७५६ मेगावाटको जलाशययुक्त तमोर हाइड्रोपावर आयोजनामा समेत लगानी जुटाई आयोजना अघि बढाउने प्रस्ताव पेश गरेको छ । तीन वर्ष अघि नै यस आयोजनामा लगानी जुटाउने प्रस्ताव कम्पनीले गरेको खतिवडाले जानकारी दिए। तमोर हाइड्रोको लागत करिब डेढ खर्ब रहने अनुमान गरिएको छ ।
कस्तो हो सिएमइसी कम्पनी ?
सिएमइसी सन् १९७८ मा स्थापना भएको सरकारी कम्पनी हो । यो चीनको उत्कृष्ट १० भित्र पर्ने इन्जिनियरिङ कम्पनी हो । यसले १ सय ५० वटा देशहरुमा खानेपानी, उर्जा र यातायात लगायत अन्य पूर्वाधारको क्षेत्रमा निर्माणको काम गरिरहेको छ । सन् २०१७ मा यस कम्पनीको वार्षिक कारोबार ३ खर्ब ७८ अर्ब रुपैंयाको भएको थियो । यो कम्पनीको नेट वर्थ (खुद सम्पत्ति) २ दशमलब ५ बिलियन अमेरिकी डलर रहेको जनाइएको छ ।



लाेकपाटी न्यूज

