काठमाडौं, २० चैत । बुधबार भाइरल भएको चर्चित गायिका अञ्जु पन्तको तस्विरले राप्रपा अध्यक्ष कमल थापासमेत झुक्किएका छन् ।
सामाजिक सञ्जालमा यो तस्बिर भाइरल भइरहँदा राप्रपा अध्यक्ष कमल थापासमेत हल्लाको पछि लागेर हेलो सरकार र प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई गुहार गर्न पुगेका हुन् । हिन्दुवादी पार्टी राप्रपाका अध्यक्ष उनले अञ्जु पन्तलाई नै लक्षित गर्दै ट्वीटरमा लेखेका छन्, ‘राहत वितरणको आवरणमा धर्म प्रचार र बाइबल बाँड्ने कार्य हुनलागेको जानकारी प्राप्त भएको छ । यो कार्य तत्काल रोकियोस् । यसतर्फ सरकार र सम्बद्ध सबैलाई समयमा नै सचेत रहन आग्रह गर्दछु ।’
तस्विरमा पन्तलाई एउटा कारको पछाडि उभिरहेको देख्न सकिन्छ । कारमा झोला र केही किताब पनि स्पष्ट देख्न सकिन्छ । त्यही तस्बिर राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले बाइबल र केही राहत सामग्री बोकेर पन्त बारा पुगेको दाबी गर्दै धमाधम विरोध गर्न थाले ।
तर, भाइरल बनेको उक्त तस्बिर अहिलेको नभएर पुरानो भएको खुलेको छ । त्यो पनि अहिले दाबी गरिएजस्तो बाइबल नभएर किताब–कपी भएको खुलेको छ । गत डिसेम्बर ५ मा वीरगन्ज कारागार भित्र रहेको समता स्कुलका विद्यार्र्थीहरुलाई पन्तले निःशूल्क कापी, झोला लगायत सामाग्रीहरु वितरण गरेकी थिइन् ।
त्यही फोटोलाई अहिले सामाजिक प्रयोगकर्ताहरुले गलत प्रचार गरेको पाइएको छ । जुन कुराको अञ्जु पन्तले नै गएको डिसेम्बर ५ मा आफ्नो फेसबुक पेजमार्फत यो तस्बिर सार्वजनिक गरेबाट पुष्टि हुन्छ ।



लाेकपाटी न्यूज

