काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको माओवादीप्रति लक्षित गर्दै फेद न टुप्पाको उद्देश्य बोकेर कहीँ नपुगिने बताएका छन् ।
उनले फेद न टुप्पाको उदेश्य बोकेर हिँडे गन्तव्यमा नपुगिने बताएका हुन् । उनले राजनीतिक स्वतन्त्रतामा मात्रै नभई आर्थिक समाजिक र समतामुलक समाज अघि बढेको भन्दै तलमाथि कसैले गर्न नहुने बताए । उनले सरकार मात्र क्रियाशील नभई नीजि क्षेत्र समेत क्रियाशील रहेको नीतिहरु बनेको दाबी गरे । उनले भने, ‘अब देश अघि बढ्यो, कसैले भत्काउन सक्दैन ।’
यो सरकार गफ गर्न नबनेको भन्दै उनले काम गरेर देखाउने दाबी गरे । मुलुकमा भोकमरीको अन्त्य गरेरै छाड्ने उनको दाबी छ । वर्तमान सरकारले जस्तो राम्रो काम अरु कुनै पनि सरकारले नगरेको दाबी गर्दै उनले सामाजिक सुरक्षा, रोजगारीको प्रत्याभूति जस्ता काम भएको दाबी गरे ।
प्रमुख प्रतिपक्ष दल काँग्रेसले भनेजस्तो देश अधिनायकवादतर्फ अघि नबढेको र त्यसतर्फ जाने कुनै सम्भावना नरहेको उनको दावी छ । काठमाडौंमा आजबाट सुरु भएको राष्ट्रिय विकास परिषदको दुईदिने बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधिनायकवादमा सरकार गयो भनेर आशंका फैलाउने काम भइरहेको भन्दै त्यस्तो हल्ला नफैलाउन चेतावनी समेत दिए ।
उनले भने, ‘म चुनौति दिन चाहान्छु, कसैले किस्तिमा हालेर ल्याएर दिएको होइन यो गणतन्त्र । सारै चर्को मूल्यमा बलिदान दिएका छौं । त्यसैले यसको रक्षा हामी गर्छौ ।’ उनले यो कुरा थाहा हुँदाहँदै पनि जनतालाई तर्साउन झुठो खेती भइरहेको बताए ।
उहिले पनि अनेकथरीका हल्ला चलेका थिए । ६० वर्ष माथिकालाई गोली हान्छ कम्युनिष्टले भनेर हल्ला चलाएका हुन् । आज अधिनायकवादको हल्ला चलाइएको छ । तर त्यो भ्रम मात्र हो’ विकास र सम्बृद्धिको यात्रामा सबैलाई सरिक हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले बरु कुनै कुरा नमिले यहाँ मिलेन भने सुधार्न सकिने बताए ।



लाेकपाटी न्यूज

