विदेशी जहाज उड्न दिएको विमानस्थलले किन राेक्याे नेपाली जहाज ?

Nepal-Airlines
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाली सरकारी ध्वजाबहाक नेपाल एयरलाइन्सको उडान केही मिनेट ढिलो भएको भन्दै रोकिदिएको छ । मर्मतका नाममा विमानस्थलले सयौं यात्रु बोकेर उड्न लागेको विमानलाई रनवेबाटै फर्काएको हो ।

नेपाल एयरलाइन्सभन्दा अघि रहेको ड्रयागन एयरलाई भने उडानका लागि अनुमति दिइएको जनाइएको छ। मंगलबार राति दुबई उडानका लागि तयार रहेको नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको उडान तयारीमा रहेको विमानका लागि सबै यात्रुको बोर्डिङ पनि गरियो। वाइडबडी जहाज साढे ८ ह्यांगरबाट निकालेर पार्किङ वेमा ल्याइएको थियो । त्यसलगत्तै क्याटरिङ आइटम जहाजमा बोर्ड गरियो र यात्रुलाई पनि जहाजमा चढाइयो।

९ बजेर ३५ मिनेट जाँदा यात्रु सबै चढिसकेर जहाजमा इन्धन भर्ने काम पनि सकियो। ९ बजेर ३७ मिनेटमा इन्जिनियरिङ क्लिरेन्स पाएपछि ९ः४५ मा जहाजका सबै ढोका बन्द भए र यात्रुहरु जहाज उड्ने पर्खाइमा रहे। जहाजको जब ढोका बन्द गरेर ब्याक गरी उडान शुरु गर्ने तयारी गर्यो त्यही समय ड्रयागन एयरको जहाज पनि धावनमार्गमै थियो। १० बज्न तीन मिनेट बाँकी हुँदा ड्रयागन जहाज उड्यो तर नेपाल एयरलाइन्सको जहाज भने उड्न पाएन।

राति १० बजे विमानस्थल बन्द हुने व्यवस्था रहेको भन्दै एटिसीले अनुमति नदिएपछि उडान रद्ध भएको नेपाल एयरलाइन्सका प्रवक्ता क्याप्टेन बिजय लामाले जानकारी दिइ। उनकाअनुसार जहाजमा १७६ जना यात्रु र १४ जना चालकदलका सदस्य थिए। जहाज ह्यांगरबाट तानेर ल्याउन दिने, प्यासेन्जर बोर्ड पनि हुन दिने तर चार मिनेट समय नदिएर विमानस्थलले राष्ट्रिय ध्वजाबाहक विमानमाथि अन्याय गरेको लामाको भनाइ छ।

क्याप्टेन विजय लामाले १० बजे बन्द हुन्छ भन्ने थाहा हुँदाहँुदै सबै काम गर्न दिने तर उडान भर्न अनुमति नदिने कुराले आफुहरु अचम्मित भएको बताए। उनले भने, ‘विदेशी एयरलाइन्सलाई जसरी पनि समय मिलाउने अनि हामीलाई वास्तै नगर्ने ? यसरी नेपाल एयरलाइन्समाथि चौतर्फी हमला हुने हो भने हामी कसरी अघि बढ्ने हो ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्