पन्ध्रौं पञ्चवर्षिय योजनाको मस्यौदा बन्दै, २५ वर्षपछिकाे नेपाल यस्तो हुने

parisad-1
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिने बताइएको छ ।

आयोगले समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएर दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाको मस्यौदा तयार गरेको छ। बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिवहरु महानगरपालिकाका मेयर, अर्थविदलगायतको सहभागिता रहेको छ।

कार्यक्रममा आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले समृद्ध नेपालको लागि दोहोरो अङ्कको आर्थिक वृद्धिदरसहित तिव्र विकास र उत्पादनसहित आत्मनिर्भरका योजना तय गरिएको जानकारी दिए। १४ औं योजनाले लिएका धेरैजसो सूचक लक्ष्य नजिक पुगेको र यसले पन्ध्रौँ योजना कार्यान्वयनमा सहज हुने पनि उनले दाबी गरे।

पन्ध्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा वि.सं २०८१ सम्ममा आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुर्‍याउने , प्रतिव्यक्ति आय १६०० अमेरिकी डलर पुर्‍याउने , गरीबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशतमा पुर्‍याउने , विद्यालय भर्नादर ९९.५ प्रतिशत पुर्‍याउने उल्लेख गरिएको छ ।

यस्तै बेरोजगारी दर ११ बाट ६ प्रतिशतमा झार्ने, १५ हजार कि.मि. कालोपत्रेसहितको लोकमार्ग हुने, ७६ प्रतिशत द्रुतमार्ग हुने, ११२ कि.मि. रेलमार्ग बनाउने, ९९ प्रतिशत परिवारमा बिजुली पुर्‍याउने, ६५ प्रतिशतमा इन्टरनेट पुर्‍याउनेलगायतका लक्ष्य पनि पन्ध्रौँ योजनाको मस्यौदामा उल्लेख गरिएको छ ।

यस्तै वि.सं २१०० अर्थात् २५ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलर पुर्‍याउने, गरीबी ५ प्रतिशमा झार्ने, बेरोजगारी दर ३ प्रतिशमा झार्ने, ४० हजार मेघावाट बिजुली उत्पादन गर्ने, ३३ हजार कि.मि. राष्ट्रिय लोकमार्ग बनाउने, २ हजार कि.मि. द्रुतमार्ग, २२ सय कि.मि. रेलमार्ग बनाउने, शतप्रतिशत नेपालीलाई इन्टरनेटको पहुँचमा पुर्‍याउने र नेपाललाई उच्च आय भएको समृद्ध देश बनाउने आयोगको मस्यौदामा उल्लेख छ । २ दिनको छलफलपछि आधारपत्रको मस्यौदाको टुङ्गो लगाइने योजना आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्