अर्गानिक उत्पादन खान पाउनुपर्छ : प्रधानमन्त्री

KP sharma oli
लाेकपाटी न्यूज

प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपाल तिब्र आर्थिक बृद्धि भएको देश हुने बताएका छन्। मंगलबार ९आज० ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको मुलुक बनाउने दाबी गरे।

उनले इतिहासमै तिब्र आर्थिक बृद्धिदर बढेको मुलुकका रूपमा परिचित गराउने बताए। ‘हामीले केही वर्षभित्रै नेपाल इतिहासमै सबैभन्दा बढी तिब्र आर्थिक वृद्धि भएको देश भनेर विकास गर्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग अहिले प्रविधि छन् त्यो ल्याएर विकास गर्न सक्छौ । यसको बढीभन्दा बढी प्रयोग गरेर आर्थिक विकास गर्छौ।’

सहकारी आन्दोलन सरकारको आफ्नै आन्दोलन भएको भन्दै प्रधानमन्त्री ओलीले सहकारीले समृद्ध नेपाल सुखी नेपालकी लक्ष्य पूरा गर्न सक्नुपर्ने विचार व्यक्त गरे। बाँच्न सहज बनाउने लक्ष्यका साथ सहकारी आन्दोलन शुरू भएको भन्दै प्रधानमन्त्रीले अबको सहकारी आन्दोलन समृद्धिका लागि हुने बताए।

अबको सहकारी उत्पादनमा लागेर समृद्ध बन्नका लागि केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ‘अबको सहकारी आन्दोलन प्रतिस्पर्धात्मक उद्यमका लागि, आधुनिक प्रविधिको प्रयोगका लागि हुनुपर्छ। समृद्धि र सुखका लागि हुनुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘सहकारीका माध्यमबाट ठूलो सहकार्यमार्फत् कृषिको आवश्यक आधुनिकीकरण गर्नुपर्छ।’

नेपालको समृद्धिको पहिलो शर्त भनेकै कृषिमा आधुनिकीकरण भएको भन्दै उनले गरिबीको अन्त्यका निम्ति किसानहरूमा रहेको गरिबीको अन्त्य हुनुपर्ने बताए। तर, त्यो स्वस्थ तरिकाले हुनुपर्ने उनको भनाइ थियो।

‘हामीले कृषिमा आधुनिकरीकरण गर्ने हो। तर, त्यो स्वस्थ ढंगले गरिनुपर्छ । हामीले व्यापारी देश मात्र होइन, स्वस्थ देश पनि बनाउने हो’ प्रधानमन्त्री ओलीले भने, ‘खान पाउने मात्र होइन स्वस्थ, अर्गानिक कुरा खान पाउनुपर्‍यो। त्यसमा आधुनिकीकरण र व्यवसायिकीकरण गर्ने हो।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सहकारीसँग जोडेर सामूहिकतामा लैजाने प्रधानमन्त्री ओलीले बताए। पैसा हुनेलाई मात्र नभएर पैसा नहुनेलाई समेत सहकारितामा सामेल गराउने अभियान सहकारी भएको बताए।

उनले सहकारीले वित्तीय कारोबार भन्दा पनि उत्पादनमा बढी जोड दिन आग्रह गरे। सहकारीका नाममा एकाध संस्थाले ठगी गरेको भन्दै उनले यस्ता कार्यबाट सचेत रहन समेत प्रधानमन्त्रीले आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्