आगलागीबाट ९ लाख बढीको धनमाल नष्ट

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत । काठमाडौंको रोल्पा, सप्तरी, कैलाली, कालीकोट र रुपन्देहीका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ९ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–१६ भ्याली कोल्ड स्टोर नजिक सडक छेउमा पार्किङ गरी राखेको बा.४ ख ३०८५ नम्बरको केरुङ यातायातको बसमा सोमबार राति आगलागी हुँदा बस जलेर क्षति भएको छ । बसका चालक बालाजु बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका २५ वर्षीय संजिव तामाङ र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालिका–१ हात्तीवन हवेली नजिक सडकमा गुडीरहेको ग.३ च १५ नम्बरको कारमा मंगलबार बिहान आगलागी हुँदा कार पूर्णरूपमा जलेर नष्ट भएको छ ।
रोल्पा, रुन्टिगडी गाउँपालिका–७ धाबाङ बस्ने ४० वर्षीय सुभान बुढाथोकी लगायत ३ जनाको घरमा सोमबार दिउसो आगलागी हुँदा तीनै जनाको घर पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ बस्ने बिनोद मण्डलसमेत दुई जनाको घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै कालीकोटको रासकोट नगरपालिका–५ आरसिटि बजारमा अनुरुप सुनारको टिनले छाएको १ कोठे घरमा ग्यास लिक भई सोमबार साँझ आगलागी हुँदा करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–५ तुक्रौलीया बस्ने अब्दुल रहमान र जैश मुसलमान धोवीको खरको छानो भएको गोठमा मंगलबार बिहान आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्