‘उत्पादकत्व बढाऔं, ज्यालामा कठोर नबनौं’ : अर्थमन्त्री डा. खतिवडा

Yubraj Khatiwada
लाेकपाटी न्यूज

बुटवल, १९ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले श्रभजीवी वर्गले श्रमअनुसारको प्रतिफल पाउनुपर्छ भन्ने मान्यता सरकारले राखेको बताएका छन्। उनले सरकारले जहिले पनि श्रमजीवी वर्गको सम्मान गर्ने बताउँदै यस्तो बताएका हुन्।

अर्थमन्त्री युवराज खतिवडाले नेपाल सुनचाँदी व्यवसायी महासङ्घको छैटौँ वार्षिक साधारणसभाको आज रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा उद्घाटन गर्दै सरकारले आगामी आर्थिक वर्षदेखि २५ वर्षे दीर्घकालीन दूरदृष्टिको आवधिक योजनासहित पाँचवर्षे योजना थालनी गर्ने बताए। यसको कार्यान्वयन गर्ने सन्दर्भमा निजी क्षेत्रका व्यवसायीको सीपको उत्थानका योजनासमेत समेटिने उनले जनाए।

उनले लगानी सम्मेलनले स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई लगानीका लागि उत्साहित वातावरण सिर्जना गरेको बताए। सुनचाँदी व्यवसायीले पनि सहकार्य गरेर शिल्प व्यवसायलाई माथि उठाउन लागेमा सरकार सहज वातावरण बनाउन तयार रहेको बताए। उत्पादकत्व बढाउन र बढी प्रतिफल प्राप्त गर्नेतर्फ लाग्न व्यवसायीलाई सुझाव दिँदै उनले भने, “उत्पादकत्व बढाऔँ, ज्यालामा धेरै कठोर नबनौँ। सरकारले करका दायरा बढाउँदै करदाता व्यवसायीलाई अन्य सुविधा बढाउने विषयमा दायित्व निर्वाह गर्छ ।”

अर्थमन्त्री डा. खतिवडाले शिल्प पेशामा युवा पुस्तालाई अघि बढाउनुपर्नेमा जोड दिए। परम्परागत सीपलाई आधुनिकीकरण गर्न शिल्प क्षमता विकास जस्ता तालिम आवश्यक हुने भएकाले यस्ता क्षेत्रमा सरकार सहकार्य गरेर अघि बढ्न तयार रहेको उनको बताए।

उनले सुनचाँदीको माग बढ्नु स्वाभाविक रहेको र समयानुसार कोटा बढाउन सरकार तयार रहेको समेत बताए। उनले व्यवसायीले खरीद गरेर तयार पारेका गरगहना नेपालमा आएर विदेशमा बस्ने नेपाली या विदेशीले नै खरिद गरेर लैजाने गरेकाले त्यसलाई विदेशमा निर्यातसरह मानिने भएकाले यसको तथ्याङ्क राखेर निर्यात सरहको अनुदानको सुविधा राज्यबाट व्यवस्था गर्न सकिने विषयमा सरकारले सोच्न सक्ने बताए। उनले व्यवसायीले व्यवसाय सञ्चालन गर्न सुनचाँदी नपाउने अवस्थाको अन्त्यका लागि व्यवसायीलाई सुन बैंकको अवधारणामा जान सुझाव दिए। उनले भने, “व्यवसायीले निर्यातका सम्भावना देखाउनुस्, सरकार सुन बैंकको सुविधाबाट व्यवसायीलाई निर्यातका लागि चाहिने सुनचाँदीको अभाव हुन दिँदैन ।”

मन्त्री डा. खतिवडाले नेपालको फलाम, स्टिललगायत बहुमूल्य खनिज पदार्थको उत्खननका लागि विदेशी लगानी गर्न तत्पर रहेको बताए। सरकारले स्वदेशी लगानीमा जोड दिएको उनको भनाइ थियो । विदेशी लगानीसँगै संयुक्त रुपमा लगानी गर्ने विषयमा समेत मन्त्री खतिवडाले आह्वान गरे।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सङ्घीय र प्रदेशमा आवश्यक कानून समयमा बन्न नसक्दा औद्योगिक संरचना र अधिकार क्षेत्रका विषयमा अन्योल देखिएकाले सो विषयको छिटो समाधान हुनुपर्नेमा जोड दिए। सो अवसरमा महासङ्घका केन्द्रीय अध्यक्ष मोहनकुमार सुनारले व्यावसायिक सुरक्षा र आवश्यक कानून अभावका कारणले व्यवसायीले झेल्नु परेका समस्या र सुनचाँदी कोटा अभावले व्यवसायीले भोग्नु परेका समस्याबारे सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्