चोरीमा संलग्न ५ जना पक्राउ

morang
लाेकपाटी न्यूज

मोरङ, १९ चैत।  प्रहरीले मोरङको विराटनगरबाट चोरीको ५ ओटा मोटरसाइकलसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाका विजयकुमार यादव र सुनिल यादव, सुनसरीका मनोजकुमार चौधरी, मोरङका अनुज यादव र सोनेलाल महतो रहेको प्रहरीले जनाएको छ।

प्रहरीले विजयको घरको कम्पाउण्डभित्र लुकाइरहेको अवस्थामा स ५ प ३३३९ नम्बरको रातो कालो रङको मोटरसाइकलसमेत बरामद गरेको छ। घरको पछाडि कम्पाउण्ड भित्र नम्बर प्लेट नभएको अवस्थामा लुकाएर राखिएको रातो कालो रंगको पल्सर मोटरसाइकलसमेत गरी दुई वटा मोटरसाइकल प्रहरीले पक्राउ गरेको हो। सिरहा जिल्ला लाहान नगरपालिका– ६ घर भइ विराटनगर ४ सप्तकोशी मार्गमा डेरा गररी बस्दै आएका विजय मोटरसाइकल चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ।

यही ठाउँबाट मोटरसाइकलको रङ परिवर्तन गर्न प्रयोग गरिने स्प्रेहरू, मोटरसाइकलका पार्टपूर्जा, मोटरसाइकलको नम्बर प्लेट लगाएत सामाग्रीहरू समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए। मोटरसाइकल चोरीमा संलग्न बर्जु ५ अमाहीवेलाहा चोक घर भइ विराटनगर ५ बरगाँछी चोकमा बस्ने मनोजकुमार चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ कोशी प्रोजेक्टबाट स १० प ३५०१ नम्बरको रातो कालो मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले चलाएको नम्बरको मोटरसाइकलको वास्तविक नम्बर को ३५ प ९७६३ रहेको अनुसन्धानवाट खुलेको एसपी केसीले बताए। त्यस्तै, विजयसँगै बरामद भएको स ५ प ३३३९ नं को मोटरसाइकलको वास्तविक नम्बर को २५ प ५२५१ रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ। यो मोटरसाइकल २०७५ फागुन १८ गते राति विराटनगर ४ नोवल अस्पतालको मोटरसाइकल पार्किङबाट चोरी भएको भनी विराटनगर ४ इक्राइका सुशान्त यादवले प्रहरीमा निवेदन दिएका थिए। पक्राउ परेका विजयकुमार यादव विराटनगरमा एमबीबीएस अध्ययरत विद्यार्थी भएको पनि खुल्न आएको छ । मनोज कुमार चौधरी एक मिडिया हाउसका फोटो तथा भिडियो पत्रकार हुन्।

त्यस्तै को २८ प ७९७४ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा प्रहरी टोलीले विराटनगर १४ जतुवाबाट अनुज यादव र सोनेलाल महतोले चलाइरहेको अवस्थामा पक्राउ गरेको छ। पक्राउ परेको मोटरसाइकल विराटनगर–४ इक्राइ बस्ने विरेन्द्र यादवको घरबाट हराएको पनि प्रहरीले जनाएको छ। प्रहरीले चैत ९ गते विराटनगर महानगरपालिका ५ चाँदनीचोकबाट को ३७ प ३१२० नम्बरको मोटरसाइकलसहित सिरहा नगरपालिका २२ का सुनिल यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ब्यक्तिको सन्दर्भमा मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुर अन्तर्गत सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी कार्वाही प्रक्रिया अगाडि बढेको एसपी केसीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्