राहतका लागि मधेश झर्दै प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत्र। आइतबार राति आएको हावाहुरीले मधेशको जनजीवन अस्तव्यस्त बनेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेशका उद्दार र राहतको काममा सक्रिय हुने भएका छन्।

प्रचण्ड आँधीहुरी प्रभावित बारा र पर्साको निरीक्षण र राहतका लागि निस्किन लागेका हुन् । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनका लागि मंगलबार त्यसतर्फ जान लागेका हन्।

आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड मंगलबार बिहान ११ बजे त्यसतर्फ जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे सुरुमा बारा पुगेर जानकारी लिनेछन्। प्रचण्ड हावाहुरी प्रभावित पर्सा पनि जाने कार्यक्रम छ।

उनले पीडित परिवारसँग भेटघाट गर्नुका साथै राहतसमेत वितरण गर्ने योजना बनाएका छन्। यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए। ओलीले अस्पताल पुगेर घाइतेलाई भेटेका थिए।

ओलीपछि शीर्ष तहका नेता प्रचण्ड पनि निरीक्षणमा निस्किन लागेका हुन्। यद्यपि, विभिन्न दलका भातृसंगठन सोमबार नै राहत तथा उद्धारका लागि प्रभावित क्षेत्र पुगिसकेका छन्। वाइसियलले संकलन गरेको राहत प्रचण्डको हातबाट वितरण गर्ने कार्यक्रम पनि रहेको छ।

आइतबार आएको हावाहुरीले बारामा सबैभन्दा ठूलो जन–धनको क्षति पुगेको छ। पर्सा पनि हुरीले प्रभावित छ। गृह मन्त्रालयको पछिल्लो जानकारीअनुसार हालसम्म २७ जनाको ज्यान गइसकेको छ।

कैयौं घाइतेको विभिन्न अस्पतालमा अहिले उपचार भइरहेको छ। हावाहुरीले घर भत्काउँदा प्रभावितहरुको जनजीवन कष्टकर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्