रुपन्देही, १८ चैत । अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेट कस्तो बनाउने भन्ने विषयमा छलफल शुरु भएको बताएका छन्।
रुपन्देहीको देवदह नगरपालिका–७ स्थित शीतलनगरमा रहेको देवदह आदर्श बहुमुखी क्याम्पसको एघारौँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा अर्थमन्त्री खतीवडाले बजेट निर्माणका लागि भैरहवा आएको र बजेटसँग सरोकार राख्ने निकायसँग छलफल गर्न लागिएको जानकारी दिए।
उनले भने, ‘म खासमा बजेट निर्माणका लागि यहाँ आएको हो। तर, तपार्इंहरुसँग पनि साक्षात्कार गर्ने अवसर पाएर खुशी भएको छु।’ उनले शिक्षामा रुपान्तरण आवश्यक भएको उल्लेख गर्दै ज्ञान, सीप र उत्पादनसँग जोड्ने शिक्षा नीतिले नै कायापलट हुन सक्ने बताए।
अर्थमन्त्री खतिवडाले अहिलेको शिक्षा प्रणालीलाई प्राविधिक शिक्षा प्रणालीमा रुपान्तरण गरेर प्राविधिकहरु उत्पादन गर्नुपर्ने धारणा राखे। उनले कृषि, वातावरण, सडक, पुल निर्माण लगायतका क्षेत्रमा प्राविधिकको खाँचो भएको औँल्याउँदै सम्पूर्ण स्थानीय तहमा प्राविधिक शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्ने तयारी भएको बताए। उनले भने, ‘अहिले पनि दुई तिहाइ शिक्षा साधारण शिक्षा मात्रै छ, यसलाई विस्थापित गरेर प्राविधिक शिक्षामा जोड दिनुपर्छ।’
त्यसैगरी कार्यक्रममा बोल्दै सांसद छविलाल विश्वकर्माले रुपन्देहीमा देखिएको सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्यालाई सधैंभरि अन्त्य हुने गरी समाधान गर्न अनुरोध गर्दै देवदहमा बौद्ध विश्वविद्यालय निर्माणका लागि भौतिक पूर्वाधारको काम छिटो टुङ्गो लगाउनुपर्ने बताए।
क्याम्पसका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । वि.सं २०६५ देखि शिक्षा र व्यवस्थापन सङ्कायमा क्याम्पसले स्नातक तहमा अध्यापन गराउँदै आएको छ ।



लाेकपाटी न्यूज

