काठमाडौं, १८ चैत । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएनको नयाँ नेतृत्व चयनका लागि गरिएको मतदानको मतगणना सुरु भएको छ ।
शनिबार भएको मतदातको मतगणना सोमबार अपरान्हबाट सुरु भएको हो । महासचिवका उम्मेदवार सुरेन्द्र थापाले भने, ‘अहिले चार बजेबाट आचार संहिता निर्माण गर्ने काम भैरहेको छ। नेपाल बारको भवनमा निर्वाचन समितिले तीन स्थान स्थानमा मतगणना गर्ने छ ।’ हावाहुरीका कारण राजविराजका मतदान केन्द्रमा मतपेटिका समयमा नआएको कारण ढिलो गरी मतगणना सुरु भएको हो । थापाले राजविराजका मतपेटिका बोकेको हवाइजहाज हावाहुरीका कारण काठमाडौंमा बस्न नसकेको बताए । उनले भने, ‘सबै मतपेटिका जम्मा नभै गणना गर्ने कुरा पनि भएन ।’
१० हजार ३ सय १३ मतदाता रहेको नेपाल बारको चुनावमा ८ हजार ३ सय २९ मत खसेको छ । तीन वर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका छन्। कार्य समिति २५ सदस्यीय हुने छ । बारमा बामपन्थी प्यानलबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र प्रजातान्त्रिक समूहबाट हालका महासचिव सुनिल पोखरेलबीच अध्यक्षमा मुख्य प्रतिस्पर्धा रहेको छ । शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका लागि मतदान भएको थियो ।
सर्वोच्चमा भएको मतदान केन्द्रमा ४ हजार ४३ मत खसेको छ। त्यसैगरी सर्वोच्च वारमा ६४४, उच्चवारमा १ हजार ६८, काठमाडौँ जिल्लामा १ हजार ५८० मत खसेको छ। ललितपुर वारको ५०२ र भक्तपुर तथा नाम सारिएका ४२९ मत उपत्यकाबाट खसेको छ ।



लाेकपाटी न्यूज

